कृषि क्षेत्रमा वैदेशिक लगानी कति उचित ?

काठमाडौं । पछिल्लो समय कृषि क्षेत्रमा वैदेशिक लगानीको विषयमा चर्को वहश चल्न थालेको छ । कतिपयले अन्य क्षेत्रमा जस्तै कृषि क्षेत्रमा पनि वैदेशिक लगानी हुनु पर्दछ भनिरहेका छन् भने कतिपयले कृषि क्षेत्रमा वैदेशिक लगानीले नेपालको कृषि क्षेत्र ध्वस्त हुन्छ भनिरहेका छन् ।

कृषिमा वैदेशिक लगानीको चर्चा र वहश गरिरहँदा सरोकारवालाहरु नै केवल हुनु पर्दछ र हुनुहुन्न भन्नेमा मात्र बाहिरी कुरा गरिरहेका छन् । किसानहरुलाई समृद्ध बनाउनका लागि वा मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि लगानीको विषयमा चर्को वहश हुनु पर्ने थियो ।

तर, कृषि क्षेत्रमा वैदेशिक लगानीका विषयमा कोठे वैठक, वहश र अन्र्तक्रियाले कुनै पनि काम गर्ने सम्भावना छैन । कृषि क्षेत्रकमा काम गरिरहेका व्यक्ति वा संघसंस्थाहरु पनि यस तर्फ छरिएर बसेका छन् । राजनीतिक दल निकट अधिकांश किसान संगठनहरु आफ्नो माउ पार्टीको निर्देशनलाई नै स्वीकार गर्दै बसिरहेका छन् । पार्टीले ठिक भने ठिक बेठिक भने वेठिक । यो कारणले ठिक वा यो कारणले वेठिक भन्ने व्यक्तिहरु पाउन मुश्किल परिरहेको छ । हुन त नेपाली किसानहरुको हक हित अधिकारका लागि बोल्ने वा वहश गर्ने व्यक्ति छैनन् भन्दा पनि फरक पर्दैन । सम्पूर्ण संघसंगठनहरु आआफ्नो स्वार्थमा रुमल्लिएका छन् ।

व्यक्तिगत रुपमा हिडेका यस्ता दल निकट किसान संस्थाबाट नेपाली कृषि क्षेत्रको विकास हुनछ भन्नु नै गलत हुन्छ । चाहे त्यो एमाले निकट होस् वा कांग्रेस निकट वा माओवादी, मधेशवादी निकट संस्थाहरु नै किन नहु्न व्यक्तिगत स्वार्थ पूर्तिका लागि मात्र संघर्ष गरिरहेका छन् । किसानहरुले मल बीउ नपाएर तड्पिदाँ पनि यी सवै मूक दर्शक भएर बसिरहेका छन् । अरुबाट परिचालित भएकै कारण पनि विगत लामो समयदेखि किसानका एजेण्डा र हक अधिकारका कुरा कुण्ठित हुँैदै गईरहेको छ । आज वैदेशिक लगानीका विषयमा पनि दुई चिरामा विभक्त भएका छन् किसानका नाममा राजनीति गर्नेहरु ।
साँच्चिकै किसानका कुरा उठान गर्ने हो भने जो सुकै भएपनि एउटा विषय र एउटै निष्कर्ष लिएर आउने हो भने वैदेशिक लगानी ठिक वा वेठिकमा तर्क वा वितर्क गर्न सकिन्छ । जसरी एमसीसीका विषयमा छलफल तर्क र चर्को वहश हुँदा हुँदै एमसीसी नेपाल सरकारले स्वीकार गरेको छ ।

त्यसै गरी नेपालमा कृषिमा साँच्चै नै ठूलो लगानी भित्र्याउन सकिन्छ र मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ भने सिमेण्ट, रड लगायतमा वैदेशिक लगानी भित्र्याए जस्तै कृषिमा पनि वैदेशिक लगानी भित्र्याउन सक्ने हो भने मुलुकका लागि पक्कै पनि हित हुनेछ । मुलुक आत्मनिर्भर बन्न सक्ने छ ।