नदीमा पनि भ्रष्टाचार, स्थानीय प्रशासनको मिलेमतो नदी दोहन

सिरहा । सिरहा र धनुषाको सीमा कमला नदीमा अवैध रुपमा हुने गरेको उत्खनन् रोक्नु पर्ने माग राखेर अब स्थानीय नै आन्दोलनमा उत्रिएका छन् ।

अवैध रुपमा भइरहेको दोहनबारे पूर्ण जानकार भएर पनि स्थानीय प्रशासनले यस्तो कार्य रोक्न कुनै चासो नदेखाएका कारण विरोधमा उत्रिनु परेको स्थानीयको भनाइ छ ।

स्थानीयले कमला नदी उत्खनन्मा प्रयोग भएका केही डोजर, टिपर र स्काभेटर नियन्त्रणमा लिएर इप्रका बन्दीपुरलाई बुझाएका छन् ।

एकातिर प्राकृतिक सम्पदाको जथाभावी उत्खनन्, अर्को तिर गाउँमा पानीको मूहान सुकेर स्थिति काकाकुल बनेपछि स्थानीय आक्रोशित भएका छन् ।

स्थानीयको बुझाई अनुसार प्रकृतिमाथि गरिएको जथाभावी दोहनले वस्तीमा पानीको समस्या सिर्जना भएको हो ।

सिरहा र धुनषाको सीमामा सञ्चालन भइरहेको कमला माइ क्रसर उद्योगले मापदण्ड मिचेर ढुंगा गिटीको दोहन गरिरहेको छ ।

खोलमा डोजर, स्काभेटर आदि प्रयोग गर्न नपाइने भए पनि उद्योगले यस्तो नियम पालना गरेको छैन ।

स्थानीय प्रशानसको रहस्यम मौनताले पनि प्रकृति माथि संस्थागत दोहनको शृङ्खला चलिरहेको अनुमान गरिएको छ ।

स्थानीय अगुवाहरुको दावीअनुसार जथाभावी उत्खनन्ले २५ सय जति मानिस बसोबास गर्ने वस्ती जोखिममा परेको छ ।

चार पुस्तादेखि बस्दै आएको थाँतथलो छाडेर हिँड्नु पर्ने जोखिामा आफूहरु परेको भन्दै उनीहरुले पीडा पोखेका छन् ।

ढुंगागिट्टी र बालुवा खानी माफियाले बस्तीको चारैतिर ठुल्ठुला खाल्डा खनेर घरखेत नै उजाड पार्न थालिसके पीडितहरुको गुनासो छ ।

अवैध उत्खनन रोक लगाउने प्रमुख प्रशासकीय अधिकृत आफ्नै कार्यकक्षमा बन्धक सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले आफैं उत्खननकर्ता समूहबाट आक्रमणमा परेका थिए ।

उनलाई गत वैशाख १५ गते उत्खननकर्ताको समूहले उनकै कार्यलय कक्षमै बंधक बनाएर कुटपिट गरेका थिए ।

धनगढीमाई–१३ र ८ मा अनियन्त्रित रूपमा ग्राभेल, ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने कमलामाई सप्लायर्स धनुषाधामका सञ्चालक बेचन शर्मा नेतृत्वको समूहले कार्यकक्षमा चुकुल लगाएर पानीले भरिएको बोतलले आक्रमण गरेको थियो । त्यो घटनाको विरोध गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए ।
अवैध उत्खनन्को विरोध गर्दा २०७६ सालमा मिथिला नगरपालिका–५ का २४ वर्षीय दिलिप महतोको हत्या गरिएको थियो ।

दिलीपलाई कोखमा फलामको रड लिभरले घोचेर घाइते बनाएपछि टिपरले किचेर हत्या गरिएको थियो ।

स्थानीय २७ वर्षीय विपीन महतोले सञ्चालन गरेको चुरिया माई क्रसर उद्योगले खोलामा राति अवैध उत्खनन गर्दै आएको थियो। सोही खोलामा हाल सम्म पनि दिनदहाडै डोजर चलायर खोला उत्खनन क्रम जारी नै छ ।