पूर्वअधिकृतविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । गुणस्तर तथा नापतौल कार्यालयका पूर्वअधिकृतविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पर्साका तत्कालीन वरिष्ठ गुणस्तर अधिकृत शशिभूषण कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा साढे ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैयाँ बिगो र त्यति नै जरिवाना तथा कैदसजाय मागदाबीसहित मुद्दा दायर गरिएको छ ।

सार्वजनिक पदमा रहँदा अख्तियार दुरुपयोग गरी यादवले गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।