पोखरेल र विवशलाई शंकर लामिछाने पुरस्कार

काठमाडौं । नेपाली साहित्यका विशिष्ट निबन्धकार शंकर लामिछानेको ९६ औं जन्मजयन्तीको अवसरमा वरिष्ठ निबन्धकार प्रा.डा. माधवप्रसाद पोखरेल र निबन्धकार ज्ञानेन्द्र विवशलाई क्रमशः नगद ५० हजार र २५ हजार राशिसहित सम्मानित गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं चलचित्र कर्मी यादव खरेलले सम्मानपत्र, दोसल्ला, दुबोको माला, रुद्राक्षको माला, मेडलसहित सम्मानपत्र प्रदान गरेका थिए । लामिछानेप्रति भावपूर्ण श्रद्धाञ्जलि, योगदानको स्मरण र उनको नाममा स्थापित पुरस्कार वितरण गरी ९६ औं जन्मजयन्ती मनाइएको हो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्रमोद प्रधानले नेपाली निबन्ध विधामा शंकर लामिछानेले बनाएको स्तरीयताको सीमालाई भत्काएर नेपाली निबन्ध अघि बढ्नु नै लामिछानेप्रति सही श्रद्धाञ्जलि हुने बताउँदै पुरस्कृत स्रष्टाका योगदानको चर्चा गरेका थिए ।

पुरस्कृत निबन्धकार ज्ञानेन्द्र विवशले शंकर लामिछाने जस्तो विशिष्ट व्यक्तिको नाममा स्थापित पुरस्कारबाट पुरस्कृत हुन पाएकोमा खुसी व्यक्त गर्दै लामिछानेको निबन्ध आफूलाई सर्धै नयाँ लाग्ने बताए ।

ताजा अपडेट