प्रधानमन्त्रीको भारत भ्रमण, जन्ती झै १२० जनाको लस्कर

काडमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण बुधबार हुँदै छ । भारत भ्रमणका लागि ४७ जनाको निम्तो पाएको भएपनि दाहालले भने १२० जनाको जन्ती लिएर जाने भएका छन् । भारत भ्रमणमा जानेहरुको नामावली मन्त्रीपरिषद्बाट स्वीकृत गराइएको छ । भ्रमण टोलीका ४७ जनाको खर्च भारतले गर्ने छ भने वाँकी खर्च नेपाल आफैले गर्नु पर्ने छ ।

जन्ती झै भारत भ्रमणमा जानेहरुको लस्करमा प्रधानमन्त्री सचिवालयकै १० जना रहेको परराष्ट्र श्रोतले जनाएको छ । जसमा प्रधानमन्त्री प्रचण्डसँग उनकी छोरी गंगा दाहाल, राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेश मल्ल, निजी चिकित्सक युवराज शर्मा भारत जाने छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका एकएक जना सुरक्षा गार्ड रहेका छन् ।

भ्रमणमा ६ जना मन्त्री, मुख्यसचिव र विभिन्न मन्त्रालयका ८ जना सचिव पनि परेका छन् । भ्रमण टोलीमा मन्त्रीहरुमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसाल रहेका छन् ।

त्यस्तै मुख्यसचिव शंकरदास बैरागी सहित परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका दिनेशकुमार घिमिरे, गृह मन्त्रालयका दिनेश भट्टराई, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका धनराज ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मधुकुमार मरासिनी, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका गोविन्द शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका केशव शर्मा, वन तथा वातावरण मन्त्रालयका रेवतीरमण पौडेल पनि परेका छन् । त्यस्तै विभिन्न व्यापारी र सञ्चारकर्मी पनि सो भ्रमण टोलीमा रहेका छन् ।

ताजा अपडेट