भारतीय कलाकार काठमाडौं अवार्डमा सहभागी हुने

काठमाडौं । भारतीय फिल्म, संगीत र पर्यटनमा आधारित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’को छैटौं संस्करण नेपालमा आयोजना हुने भएको छ । आयोजक संस्थाका हरिश बब्बरले पहिलोपटक भारतबाहिर अवार्ड गर्न लागिएको बताए । भविष्यमा अन्य मुलुकमा गर्ने तयारीबारे उनले जानकारी दिए ।

आयोजक संस्था फर्न इभेन्ट्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी जेठ २१ गते काठमाडौंको र्‍याडिसन होटलमा अवार्ड गर्ने जनाएको हो । उक्त अवार्डमा नेपाली र भारतीय फिल्म, संगीत, पत्रकारिता, पर्यटन, खेलकुद क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गरिने जनाइएको छ ।

समारोहमा नेपाली सेलिब्रिटीसँगै भारतीय अभिनेत्री भाग्यश्री, अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंहसहित झण्डै दर्जन भारतीय कलाकारले प्रस्तुति दिने जनाइएको छ । नेपालको सांग्रीला भोयाजले ट्राभल पार्टनरको रुपमा सहभागिता जनाउने भएको छ । सोही समारोहमा सहभागी हुने भारतीय कलाकारलाई नगरकोट समेत घुमाउने कार्यक्रम रहेको जनाइएको छ ।