सभामुखको निर्देशन : संसद् भवनको काम निर्धारित समयमै सक्नु

काठमाडौँ । सभामुख देवराज घिमिरेले नयाँ संसद् भवनको काम निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

बिहीबार सिंहदरबारस्थित निर्माणधीन संसद् भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । उनले ठेक्का प्राप्त समयको हिसाबले काम कम भएको पाइएको बताए ।

संसद् भवन निर्माणको काम अबका दिनमा गति लिने विश्वास सभामुख घिमिरेको थियो । उनले विगतका प्रतिकूलतालाई अनुकूलतामा बदलेर तोकिएको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

‘समयको हिसाबले काम कम छ, तर अब यसले गति लिन्छ, सबै लाग्नुपर्छ, बन्नुपर्छ समयमा नै । यो राष्ट्रको आवश्यक्ता हो । हिजोका प्रतिकुलतालाई अब अनुकूलतामा बदलेर समयमा नै काम सक्नुपर्छ । अब अनुकूलता सबै ठाउँमा छ । यसले अब समयमा नै काम सकिन्छ,’ उनले भने, ‘हामीले समयमा नै काम सक्नुपर्छ, अहिले देशको अर्थतन्त्र त्यति गतिलो छैन । हामीले कतिपय ठाउँमा पेमेन्ट गर्न नसकेर ठेकेदारहरू त्यत्तिकै बसेका छन्, तर यहाँ त कुनै पेमेन्टको समस्या नै छैन भनेपछि काम समयमा नै सक्नुपर्छ । संसद्का कर्मचारीहरूले बिहानदेखि काम गर्दा खाजा खान नपाएको कुरामा नै आज हामी छलफल गर्दैछौँ । देशको आर्थिक संकट यस्तो छ । कर्मचारीहरूले यस्तो बेहोरेर भए पनि कसरी काम चलाउने भन्नेकुरा छ । एकले अर्कोलदाई दोष नदेखाऔँ । साझा दायित्वका रूपमा काम गरौँ । ६३ प्रतिशत बल्ल पुगेको छ । समग्रमा ५० प्रतिशतमा छौँ ।’

सभामुख घिमिरेले सहरी विकास मन्त्रालय र ठेकेदार कम्पनीले एकले अर्कोलाई दोष लगाउनु भन्दा आफ्नो काम सम्पन्न गर्नेकुरामा बढी जोड दिनुपर्ने सभामुखको भनाइ थियो । संसद् भवन‍ निर्माणको काम देशको साझा र आवश्यकताको विषय ठानेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

ताजा अपडेट