साढे ४ सय रुपैयाँमा ३ वटा घर

काठमाडौं । अहिले सामान्यतया: एउटा घरको मूल्य कति पर्छ भन्दा तपाईँ हामी सजिलै अनुमान लगाएर भन्न सक्छौं लाख, करोड, अरब आदि । तर इटालीमा एक महिलाले साढे ४०० रुपैयाँभन्दा पनि कम मूल्यमा तीनवटा घर खरिद गरेर सबैलाई तिनछक बनाइदिएकी छिन् ।

यस्तो अपत्यारिलो तरिकाले किनेका तीनवटै घरका सम्बन्धमा उनले ठूलो योजना बुनेकी छिन् ।

यो घटना इटालीको सिसिलीमा भएको हो । अमेरिकाको क्यालिफोर्नियाकी बासिन्दा ४९ वर्षीया रुबिया डेनियलले सिसिलीमा सायद संसारकै सबैभन्दा सस्तो घर खरिद सम्झौता गरेर कीर्तिमान कायम गरेकी छिन् । रुसिबयाले जम्मा तीन डलर ३० सेन्टमा तीनवटा घर खरिद गरेकी छिन् ।

सिसिलीको एउटा सानो सहर मुसोमेलीमा खरिद गरेका घरमा बसोबास गर्नका लागि उनी आइसकेकी छिन् । मुसोमेली सहरको जनसंख्या केवल १० हजार मात्रै छ ।

उनले आफूले खरिद गरेका तीनवटा घरमध्ये एउटामा आफैं बस्ने र अरु २ वटालाई हितकारी काममा प्रयोग गर्ने योजना बनाएकी छिन् ।

त्यसमध्ये एउटा घरलाई उनले आर्ट ग्यालरीमा परिणत गर्ने छिन् भने अर्को घरलाई चाहिं स्थानीय मानिसहरुका लागि एक आरोग्य केन्द्रका रुपमा स्थापित गर्नेछिन् । त्यसमध्ये आरोग्य केन्द्र निर्माण उनको सबैभन्दा ठूलो परियोजना हो ।

घर खरिद गरेसँगै उनले यसको काम सुरु गरिसकेकी छिन् । दुईवटा घरको बाहिरी हिस्सामा उनले पूर्णरुपमा काम गरिसकेकी छिन् । तथापि आरोग्य केन्द्र बनाउने घरको काम भने सुरु हुन बाँकी छ ।

स्मरण रहोस् इटालीका विभिन्न सहरमा नगन्य मूल्यमा घरहरु बिक्रीमा राखिएका छन् । कोरोना महामारीभन्दा अगाडिदेखि नै इटाली घट्दो जनसंख्याको गम्भीर समस्यासँग जुधिरहेको थियो र खाली भैरहेका सहरहरुमा सित्तैजस्तो मूल्यमा घरहरु बिक्रीमा राखिएका छन् ।

सन् २०१९ मा सिसिली सहरलाई पुनर्जीवित गर्न भन्दै एक डलरमा एउटा घर खरिद गर्न सकिने योजना नै अघि सारिएको थियो ।

हुनत रुबियाले तीन वटा घर तीन डलर ३० सेन्टमा किनेकी छिन् । तर वास्तवमा यी टुटेफुटेका घरको मर्मतचाहिं निकै महंगो पर्नेछ । यी घरको मर्मतका लागि २४ हजार देखि ९० हजार डलरसम्म खर्च लाग्नसक्ने बताइएको छ ।