पत्रकारहरुको चीन भ्रमणमा गैरपत्रकार युवती

काठमाडौं । चीन भ्रमण यदि कसैले गरेको छैन भने त्यो नेपालको वास्तविक पत्रकार नै होइन भन्ने बेला भइसकेको छ । अर्थात् प्रत्येक हप्ताजसो नेपालबाट सञ्चारकर्मीहरु चीन भ्रमणमा जान्छन् । चीन सरकारको मेजमानमा मस्ती गर्छन् । २०१७ सेप्टेम्बरको पहिलो साता पनि एक हुल पत्रकारहरुले चीनको भ्रमण गर्ने मौका पाए । भ्रमण दल त्रिभुवन विमानस्थल पुगेपछि चीन भ्रमण गर्ने पत्रकारहरुबीच खासखुस चल्यो । सञ्चारकर्मीको टोलीमा एकजना युवती पनि सहभागी भएकी थिइन् । उनको पहिचान र पृष्ठभूमि थाहा नपाउँदा दुनियाँको समाचार लेख्ने पत्रकारहरु आफैँ छक्क परे ।

टोली काठमाडौंबाट उडेर चीनको छेन्दु पुग्दासम्म धेरथोर कुरा खुल्यो । सञ्चारकर्मीको कोटामा चीन पुग्ने ती भाग्यमानी युवती राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा अमेरिकी आइएनजीओ नेशनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडीआई)बाट तलब खाने अधिवक्ता रिया बस्नेत रहिछन् । कानून शंकायबाट स्नातक सिध्याएर सात महिना अघि (२०७३ फागुन २८ गते) मात्र अधिवक्ताको लाइसेन्स लिएकी उनी लाख रुपैयाँभन्दा बढी तलब बुझ्ने पुनःर्निर्माण प्राधिकरणकी सञ्चार परामर्शदाता हुन् भन्दा धेरैले सुरुमा विश्वासै गरेनन् ।

कानूनको आलोकाँचो विद्यार्थी र पत्रकारिताको कुनै पृष्ठभूमिबिना भूकम्प पुनःनिर्माण प्राधिकरणजस्तो महत्वपूर्ण संस्थाको सञ्चार परामर्शदाता बन्न कसरी भइन् ? अनि कसरी पत्रकारहरुको चीन भ्रमणमा उनको नाम सामेल गरियो ? तिब्बतको पठार अवलोकनभन्दा यी दुई रहस्यले नेपाली पत्रकारमा खुल्दुली बढाइ दियो ।

यात्रासँगै रहस्यका पत्रहरु खुल्न थाले । कथा रिपब्लिका अंग्रेजी दैनिकसँग गएर ठोक्कियो ।
प्राधिकरणमा सुशील ज्ञवाली सिइओ भइन्जेलसम्म रिपब्लिकाले दिनहूँ गोदेर समाचार लेख्ने गरेको रहेछ । सम्पादक सुबास घिमिरे त्यतिबेलाका सिइओलाई ठोक्न समाचार कक्षमा खुलेआम आदेश दिँदा रहेछन् । जब डा.गोविन्द पोखरेल प्राधिकरण सिइओ भएर आए रिपब्लिकामा त्यसको प्रत्यक्ष प्रभाव देखियो । प्राधिकरणको ढिलासुस्ती, पीडितहरुप्रतिको फट्याइँ र भूकम्पपीडितले खुला आकाशमा रात बिताएका स्टोरीहरु रिपब्लिकामा किल हुन थाले ।
प्राधिकरणबारे आलोचनात्मक हुने पत्रकारको मुख थुन्न थालियो । र, त्यसको सट्टा सफलताका कथा झल्किने इन्फोग्राफ एवं सिइओ डा।गोविन्द पोखरेलका लेख रिपब्लिकाले छाप्न थाल्यो ।
अझ निर्लज्ज कदम त त्यो थियो सम्पादक घिमिरेले आफ्नी महिला मित्र रियालाई सम्पादक पदको दुरुपयोग गर्दै प्राधिकरणको परामर्शदातामा नियुक्ति दिलाउन दवाब बढाए । रिपब्लिका सम्पादकको प्रलोभनजन्य दवाब एवं तलब खुवाउने संस्था (एनडीआई) को सहमतिपछि सिइओ गोविन्द पोखरेलले योग्यता क्षमता, अनुभव नपुगे पनि रियालाई वरिष्ठ पदमा भर्ना गर्न हिच्किचाएनन् ।

प्राधिकरणले कर्मचारी भर्ती गर्ने जिम्मा पनि एनडीआईलाई नै दिएको थियो । एनडीआईको तर्फबाट मान्छे छान्नेमा विदुशी ढुंगेलसहितको टोलीले थियो । ढुंगेल र घिमिरे हप्तेपिच्छेसँगै खानपिन पार्टनर हुन् । स्रोतका अनुसार, सो संस्थाबाट पैसा लिएर विदुशी ढुंगेल, उनका श्रीमान् जगन्नाथ लामिछानेले गर्ने अधिकांश एक्टिभिजममा रिपब्लिका सम्पादक घिमिरे कतै छुट्दैनन् । कहिले कहीँ उनीहरुले नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेललाई समेत त्यस्तो काममा निम्त्याउने गर्छन् । नीति, नियम र योग्यता एकातिर भए पनि मिलेर खाने टोलीकी प्रिय मान्छेलाई एनडीआईले उत्तीर्ण गराइदिँदा प्राधिकरणमा रियाको प्रवेश एउटा वरिष्ठ हैसियतमा भएको थियो ।

रिपब्लिका स्रोतका अनुसार, चीन सरकारले अक्टोबर पहिलो सातादेखि पत्रकारलाई गराउने भ्रमणमा सम्पादक घिमिरेले आफ्नो पदको अझ चरम दुरुपयोग गरे । पत्रकारका लागि आएको चीन भ्रमणको निमन्त्रणमा उनले निर्लज्ज रुपमा आफ्नी मित्रको नाम चढाइदिए । भ्रमण सहजीकरणमा संलग्न चिनियाँ नागरिकले सिचुवान टेलिभिजन स्टुडियो भ्रमणका क्रममा चीन सरकारको निम्तो त रिपब्लिकाको कोलम लेख्ने भएको जानकारी दिँदा धेरै नेपाली पत्रकार छक्क परेका थिए । त्यहाँ चिनियाँले रियालाई रिपब्लिकाको कोलम लेख्नेको रुपमा निम्ता गरेको सुनाए । रिपब्लिका दैनिकबाट महावीर पौडेल र विश्वास बरालले अंग्रेजीमा नियमित कोलम लेख्दै आएका छन् । दैनिक विचार, उत्पादन र सम्पादनको काम गर्ने उनीहरुको नाम काट्न लगाएर सम्पादक घिमिरेले पदको दुरुपयोग गरी आपूm निकट मित्रको नाम राख्न लगाई दुवै जना चीन भ्रमणमा आएको बल्ल पुष्टि भयो ।

सिचुवान पुग्दासम्म केहीले निष्कर्ष निकाले, ‘क्रियाशील पत्रकार हुनुभन्दा ठूलो कुरा त सम्पादकको मित्र हुनु पो रहेछ ।’ स्मरणीय छ रिया बस्नेतको नाउँमा अंग्रेजीमा २०१७ जुन ६ गते ′लिभिङ नो वान बिहाइन्ड′ बाहेक कहीँकतै कुनै सामग्री प्रकाशित छैन । संयोग के पनि परेको छ भने सो लेख पनि रिपब्लिकाले नै छापेको थियो ।

रिपब्लिका स्रोत भन्छ, सम्पादक घिमिरेले पदको दुरुपयोग गरेको यो पहिलो घटना भने होइन । यसअघि अमेरिकी राजदूतावासले पत्रकारलाई दिने फेलोसिपमा समेत घिमिरेले सम्पादकीय पदको दुरुपयोग गरी अरु नै व्यक्तिको नाम सिफारिश गरेका थिए । उनले सिफारिश गरेको व्यक्ति रिपब्लिका समाचार कक्षको नभएको राजदूतावासको स्वतन्त्र अनुसन्धानबाट पुष्टि भएको थियो । त्यसपछि दूतावासले घिमिरेको सो सिफारिश रद्द गरिदिएको थियो । चिनियाँ दूतावासले भने त्यस्तो अनुसन्धान नगर्दा गैरपत्रकार रिया भ्रमण टोलीमा पर्न सफल भएकी थिइन् ।

यो पटक चीन जाने टोलीमा घिमिरेबाहेक ठूला दैनिक पत्रिकाका कोही पनि सम्पादक सहभागी थिएनन् । पत्रकारको टोलीले सिचुवान टिभी, छेन्दु रेडियो, छेन्दु टेलिभिजन तथा सिचुवान दैनिक पत्रिकाको सम्पादकीय टोलीसँग अन्तक्र्रिया गर्दै बेइजिङको भ्रमण गरेको थियो । घिमिरे र रिया बाहेक सो टोलीमा राष्ट्रिय समाचार समिति शरदचन्द्र भण्डारी, नयाँ पत्रिकाका पर्शुराम काफ्ले, अन्नपूर्ण पोष्टका सन्तोष घिमिरे, रातोपाटीका ओम शर्मा, अनलाइनखबरका राजकुमार श्रेष्ठलगायत सहभागी थिए ।साँघुन्युज डटकमबाट