संस्थागत लगानीकर्ताले समेत पत्याएनन् बीपीसीको एफपीओ

काठमाडौं । बुटवल पावर कम्पनी(विपिसि)को थप निस्काशन(एफपिओ)लाई नागरिकले त पत्याएनन् नै । संस्थागत लगानीकर्ताले समेत सो कम्पनीको एफपिओलाई पत्याएनन् । विपिसिको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटलकाअनुसार बुधबारसम्म रु एक अर्ब ३६ करोड बराबरको मात्रै एफपिओ विबक्री भएको छ ।
बुधबारसम्म १ अर्ब ३५ करोड रुपैयाँ बराबरको २६ लाख ९४ हजार ६१० कित्ता एफपीओ मात्र बिक्री भएको बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।
गत माघ १५ गतेदेखि १९ गतेसम्म एफपिओ बिक्रीका लागि समयसीमा तय गरिएको थियो । पहिलो चरणमा रु एक अर्ब २० करोडको मात्रै एफपिओ बिक्री भएका कारण विपिसिले संस्थागत लगानीकर्ताका लागि एफपिओ बिक्री गर्ने घोषणा गरेको थियो ।
त्यस्ता लगानीकर्ताले यही फागुन १५ गतेसम्म एफपिओ खरिद गर्न सक्ने समयसीमा तय गरिएको छ । एनएमबी क्यापिटलका अनुसार तोकिएको समयभित्र पनि एफपिओ बिक्री हुने सम्भावना कम रहेको छ ।
विपिसिले रु २ अर्ब ४ करोड ४५ लाख बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको थियो ।
आवेदन धेरै परेको भएपनि अधिकाशंले न्यूनतम १० कित्ता मात्रै आवेदन गरेको बताइन्छ । एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेस घिमिरेका अनुसार आवेदन उल्लेख्य भएपनि रकम भने कम भएका कारण एफपिओको समग्र परिमाणमा कमी आएको हो ।
विपिसिको  एफपीओ खरिदका लागि ८३ हजार २२० वटा आवेदन परेको बताइएको छ ।
कम्पनीले रु १०० मूल्यको शेयरमा रु ४०१ प्रिमियम थप गरेर रु ५०१ मा प्रतिकित्ता एफपिओ बिक्री गरेको हो ।
विपिसिले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ बिक्री गरेको दावी गर्दै आएको छ ।