के रिसले भित्तामा पुर्याइए एमालेका शक्तिशाली महासचिव पोखरेल ?

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तारको क्रममा आफ्नै पार्टीका शक्तिशाली महासचिव ईश्वर पोखरेललाई भित्तामा पुर्याएको अथवा पाखा पारेर मौसम अनुसार घाम–शीतल ताप्ने रक्षा मन्त्रालयको जिम्मेवारी दिएको चर्चा एमाले भित्र र बाहिर चलेको छ।  कार्यकारी भूमिका, जिम्मेवारी र कामको  हिसावले हेर्ने हो भने महासचिवको पद एमालेमा  अध्यक्षभन्दा पनि शक्तिशाली पद मानिन्छ।  

मन्त्रिपरिषदको बिस्तारमा चाहिं प्रधानमन्त्री ओलीले भित्तो मै पुर्याएर के संकेत गर्न खोजेका होलान भन्ने जिज्ञासा एमाले पंक्तिमा उठेको छ।  पीएम ओली निकट स्रोतका अनुसार, महासचिव ईश्वर पोखरेललाई कुनै पनि मन्त्रालय नदिएर प्रधानमन्त्री कार्यालयमा बिना बिभागीय मन्त्री  बनाएर थन्काउने सोचमा प्रधानमन्त्री थिए।  तर, निकै जोडबल र भनसुन पछि मात्र अस्थायीरुपमा रक्षा मन्त्रालय दिएर थन्काइएको छ।   प्रधानमन्त्री कार्यालय स्रोत भन्छ, बिना बिभागीय मन्त्री ईश्वर पोखरेलका लागि  अफिस कोठा पनि केपी ओलीको पहिलो कार्यकालमा उनका पीए इन्द्र भण्डारी बसेको कोठा सरसफाई गर्ने आदेश आएको थियो।

महासचिव  ईश्वर पोखरेलको सम्बन्धमा  प्रधानमन्त्री तथा एमालेका अध्यक्ष  केपी ओलीको गुनासो चाहिं पोखरेलले ”भाका” टिप्न नसकेको रहेको बालकोट स्रोत बताउछ।  महासचिव ईश्वर पोखरेलले एक नम्बरको दलको केन्द्रीय सचिवालयलाई पनि  सफलतापूर्वक चुस्तदुरुस्त ढंगले परिचालन गर्न नसकेको ठम्याई अध्यक्ष ओलीको रहेको बताइन्छ।  एमाले  केन्द्रीय सचिवालय पार्टीको व्यवस्थापन गर्ने प्रमुख निकाय हो।  केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिले गरेका तत्कालीन र दीर्घकालीन निर्णयहरु गर्ने महत्वपूर्ण निकाय हो।   केन्द्रीय सचिवालय महासचिवको नेतृत्वमा  २ जना उपमहासचिव, ५ जना सचिव र एकजना आर्थिक विभाग प्रमुख रहेका हुन्छन्। प्रत्येक हप्तामा बस्नु पर्ने वैधानिक व्यवस्था भएतापनि डेढ/दुई महिनासम्म पनि केन्द्रीय सचिवालयको  बैठक बस्न नसकेको गुनासो अध्यक्ष ओली समक्ष त्यसका सदस्यहरुले गर्ने गरेको पनि स्रोतको दावी छ।

अलपत्र पर्यो कार्यकर्ता सरक्षण कोष ! 

एक नम्बरको दल एमालेका हजारौं कार्यकर्ता असहाय, अपांग, रोग भोकले पीडित छन् ।  त्यस्ता पीडित कार्यकर्ताका लागि झलनाथ खनाल अध्यक्ष भएको समयमा केन्द्रीय समितिको बैठकले  १२ करोडको एउटा कार्यकर्ता सँरक्षण  विशेष कोष महासचिवकै नेतृत्वमा खड़ा गर्ने निर्णय गर्यो।  लगभग ५/६ वर्ष अघि भएको  त्यस्तो महत्वपूर्ण निर्णय अहिले कहाँ, कुन अवस्थामा रहेको छ, अत्तोपत्तो छैन।  एमाले पार्टीका यस्ता धेरै महत्वपूर्ण निर्णयहरु कार्यान्वयन नभएको कारणले पनि अध्यक्ष केपी ओली महासचिव पोखरेलप्रति रुष्ट हुँदै ”भाका टिप्न” नसकेको कुरा आफू निकट नेताहरु समक्ष गर्ने गरेको बताइन्छ।

किन पाएनन त अर्थ मन्त्री ? 

केपी ओलीको अर्थ मन्त्री बन्नका लागि महासचिव पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली दावेदार थिए। अध्यक्ष ओली निकट मानिएका र एमाले  पार्टीका यी शक्तिशाली नेताहरुलाई पाखा पार्दै महासचिव पोखरेलले  पनि अति नै मायाँ गर्ने युवराज खतिवडालाई बनाइयो।  तीनजना मध्ये कुनै एकजना नेतालाई अर्थ मन्त्रीको जिम्मेवारी दिंदा, पार्टीगत असन्तुलन हुने  आर्थिक मामिलाका वाह्यशक्ति पनि सन्तुष्ट नहुने गर्दै  ”सुखी नेपाली : समृद्ध नेपाल” र ”नेपाली जनताको सपना : समृध्दि  र समाजवादको स्थापना” भन्ने  एमालेको नारा बोक्ने व्यक्तिभन्दा बाहिर गएर गैरराजनीतिक व्यक्तिलाई देशको अर्थतन्त्र जिम्मेवारी दिइएको छ।  नवनियुक्त अर्थ मन्त्री खतिवडा ”मरे ससुराको छोरा, बाँचे मेरो पोइको” भन्ने बुहारीमा लागू हुने उखानका रुपमा प्रस्तुत भएका छन्। देशको  अर्थतन्त्र सप्रिए खतिवडाले जस पाउने छन्, बिग्रिए एमालेको अर्थनीति असफल भनिने न हो।  एमाले नेताहरुलाई चेतना भया !!