सलमान खानको ‘बलिउड सुपरस्टार दबंग द टुर’विरुद्ध विप्लव

काठमाडौँ, फागुन। २०७४ फागुन २६ गते नेपालको राजधानी काठमाडौंमा अवस्थित सैनिक मञ्चमा हुन् गैरहेको  ‘बलिउड सुपरस्टार दबंग द टुर’ नेकपाको अखिल नेपाल जनसांस्कृतिक महासङ्घले रोक्ने भएको छ।  अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाले २०७४ फागुन १५ गते प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् ” नेपालको राजनीतिक परिस्थिति यतिखेर गम्भीर मोडमा उभिएको छ । अत्यासलाग्दो नेपाली राजनीतिले जीवनका अनगिन्ती क्षेत्रमा पनि गम्भीर असर पु¥याएकै छ तर पनि जनताका लेखक–कलाकारहरू आ–आफ्ना विचारधारात्मक क्षेत्रमा अहोरात्र खटिरहेका छन् । नेपालमाथि बढ्दो विदेशी संस्कृतिको अतिक्रमण रोक्न राष्ट्रभक्त, जनसंस्कृतिप्रेमीहरू एकजुट हुनुपर्ने समय आएको छ । लामो समयदेखि नेपालमा पश्चिम तथा दक्षिण क्षेत्रबाट भइरहेको राजनीतिक अतिक्रमणका साथै समय–समय सांस्कृति अतिक्रमण हुँदा आम सर्वसधारणले त्यसलाई डटेर विरोध गरेको र आवश्यक पर्दा सडकमै आएर बलिदान दिएको समेत विगतको इतिहास जीवितै छ ।”

”यसै सन्दर्भमा यही फागुन २६ गते नेपालको राजधानी काठमाडौंमा अवस्थित सैनिक मञ्चलाई समेत प्रयोग गरेर भारतीय कलाकार ल्याई कार्यक्रम आयोजना गर्न लागिएको प्रति अखिल नेपाल जनसांस्कृतिक महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमाथि भारतीय राजनीतिक मात्रै होइन, सांस्कृतिक अतिक्रमण समेत तीव्र पारिएको छ । नेपालीहरू राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन्, भनेर जाँच्ने भित्री उद्देश्य भारतीय कलाकार काठमाडौं उतार्ने विशेष योजनाअन्तर्गत हुन लागेको ‘बलिउड सुपरस्टार दबंग द टुर’ नामक योजनाअन्तर्गतको सांस्कृतिक कार्यक्रम तत्काल खारेज गर्न माग गर्दछौँ ।”

”नेपालमा विईङ ह्युमनको नामबाट सामानहरू बिक्री गर्दै भारतीय जनताको लागि सहयोग गर्दै आएका नायक खान नेपाली जनताका लागि समेत प्रिय पात्र हुन् । कलाको हिसाबले उनी निकै लोकप्रिय छन् तर त्यसो भन्दैमा हाम्रो राष्ट्रियताको रक्षा र सम्बर्द्धनका लागि उनीसँगै आउने सांस्कृतिक अतिक्रमण स्वीकार्य छैन । उनी कलाकारको हिसाबमा नेपाल आऊ/जाऊमा कुनै अवरोधको नीति नरहेको तर रक्सी, मदिराका सम्बर्द्धनका लागिनेपाल आउने, प्रतिव्यक्ति २० हजार रुपैयाँको टिकट काट्ने कार्य नेपाली अर्थतन्त्रलाई समेत धरासायी बनाउने निश्चित छ । त्यसैले ओडिसी इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको उक्त कार्यक्रम तत्काल रोक्न हामी सरोकारवाला सबैलाई हाम्रो विनम्र आग्रह छ ।”

”यतिबेला उनै भारतीय कलाकार सलमान आफ्ना केही भारतीय कलाकारहरूका साथ खान रक्सीको प्रमोसनका लागि नेपाल आउँदा जनता खुसी हुने कुरा छैन । विनासकारी भूकम्पले सिङ्गो राष्ट्र पीडा र शोकमा डुबेका बेला दुई शब्द सहानुभूति व्यक्त नगर्ने कलाकार खानका लागि हामी नेपालीबाट करोडौं रकम खर्चनु राष्ट्रघात त हुँदै हो, नेपाली कला र कलाकारमाथिको ठूलो अपमान पनि हो ।”

 

”नेपालको स्वाभिमानको रक्षार्थ पनि सलमान खानसहित भारतीय कलाकारको नेपालमा हुने भनिएको कार्यक्रम रोक्न अनिवार्य छ । रक्सीको प्रोमोसनका लागि दसौं हजारको टिकट बेचेर कार्यक्रम गर्ने कुरा हामीलाई सर्वथा अमान्य छ । नेपाली कलाकारहरूलाई उपेक्षा गरेर विदेशीलाई करोडौं तिरेर राजधानीको मुटुमा नचाउने कुरा झन् अमान्य छ । हामीलाई यो कुरा पनि थाहा छ कि कलाकार सलमान नेपालको असाध्यै माया लागेर आउन लागेका होइनन्, उनको एक मात्र मूल उद्देश्य नेपाली पैसा सोहोर्नु ।”

”कार्यक्रममा रक्सीको टिसर्ट लगाएर टुँडीखेलमा नेपाली जनतालाई उफार्ने दुष्प्रयास भइरहेको प्रति हाम्रो गम्भीर आपत्तिसमेत रहेको छ । हाम्रो सङ्गठन भारतीयहरूको यसप्रकारको गलत नियत तथा नीतिको तीव्र विरोध र भत्र्सना गर्दछ । साथै, हाम्रो सङ्गठन यसप्रकारको भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादको प्रतिरोध गर्न तयार छ । भारतीय कलाकार सलमान खानलाई यस्तो गलत कार्यक्रमको बाहना बनाएर नेपाल नआउन, उनको कार्यक्रमका आयोजक ओडिसी इन्टरटेनमेन्टलाई उक्त कार्यक्रम नगर्न तथा आम नेपाली जनतालाई महंगो मूल्य तिरेर सो कार्यक्रमको टिकट नकिन्न महासङ्घ हार्दिक आग्रह गर्दछ । ”

”साथै, नेपाली राजनीतिक दलहरूलाई सार्वजनिक आमसभा गर्न नदिने तर भारतीय कलाकारलाई सधैँ मञ्च खुल्ला गर्ने नेपाली सेनालाई सैनिक मञ्चमा विदेशी नृत्य नचाउने औचित्य पुष्टि गर्न हार्दिक आग्रह गर्दछौँ । र, अन्य सहयोगी एजेन्सीलाई कुनै पनि सहयोग नगर्न हामी यसै प्रेस विज्ञप्तिमार्फत् सबैलाई आग्रह गर्न चाहन्छौँ । जबर्जस्ती गर्न खोजे, अन्यथा रूपमा लिइए, त्यसबाट उत्पन्न हुने आइपर्ने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने कुरा पनि हामी यसै प्रेस विज्ञप्तिद्वारा स्पष्ट पार्न चाहन्छौँ ।”