क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ

काठमाडौँ, १० असार  : महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले आइपिएल क्रिकेटमा सट्टेबाजीको नाममा रु दुई करोड ४० लाख ठगी गर्ने धनुषाका ४८ वर्षीय अमृत भन्ने नथमल अग्रवाललाई शनिबार काठमाडौँ महानगरपालिका–४ पानीपोखरीबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

अग्रवालले काठमाडौँ महानगरपालिका–७ सिफल बस्ने महोत्तरीका ३९ वर्षीय राकेश सिंहलगायतका व्यक्तिबाट आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी उक्त रकम ठगेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । पक्राउ अग्रवाललाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

यसैबीच लागुऔषध नियन्त्रण ब्यूरोले २१३ किलोग्राम चरेशसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले डब्लु बी २३ बी ५८८५ नं को भारतीय ट्रकममा २१३ केजी चरेश, दुई केजी २५० ग्राम अफिमसहित भारतीय नागरिक मेराज आलमलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

आलमले ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको अवस्थामा उक्त परिमाणको लागुऔषध बरामद भएको हो । आलामले उक्त लागुऔषध नेपालको सुनौली नाकाबाट भारतको गोरखपुर हुँदै दिल्लीतर्फ लैजाँदै गरेको प्रहरीले जनाएको छ ।