छोराको बिहे भोजबाटै सुन तस्कर पक्राउ !

काठमाडाैं । सुन तस्करी प्रकरणमा संलग्नता रहेको आशंकामा वीरगंजका एक व्यवसायी सोमवार पक्राउ परेका छन् । ३३ किलो सुन प्रकरणमा सरकारले गठन गरेको विशेष छानविन समितिले वीरगंजका व्यापारी राजु द्वारकालाई सोमवार काठमाण्डुको एक होटलबाट पक्राउ गरेको हो ।

तस्करीमा संलग्न रहेको प्रारम्भीक अनुसन्धानबाट देखिएकाले व्यापारी राजुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको समितिका एक सदस्यले बताए । समितिको नियन्त्रणमा रहेका द्वारकाले विदेशबाट आएको सुन भारत लगेर बिक्री वितरण गर्ने गरेको बताइएको छ। सोमवार द्वारकाको छोराको बिहेको पार्टी थियो ।

असार ८ गते समितिले वीरगंजका सञ्जय खेतान भनिने प्रविण अग्रवाललाई पक्राउ गरेको थियो । उनी हुन्डीको कारोवारी समेत भएको अनुसन्धानबाट खुलेको प्रहरीले दावी गरेको छ । गत बिहीवार समितिले रेस्टुरेन्ट व्यवसायी अकबर शाहलाई नियन्त्रणमा लिएको हो । ललितपुरको लबिम मलमा उनको रेस्टुरेन्ट छ ।

यसअघि प्रहरीले तस्करी प्रकरणमा प्रतिवादी बनाइएका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो ।

ताजा अपडेट