जनतालाई ठग्दै माइ इन्भेस्टमेन्ट लिमिटेडका अध्यक्ष अनिल गजमेर

काठमाडौं, १३ असार। शक्ति केन्द्रको आडमा गलत मनोवृत्ति भएका व्यक्तिले कतिसम्म चलखेल गर्छन् भन्ने कुराको दृष्टान्त बनेका छन्, माइ इन्भेस्टमेन्ट लिमिटेडका अध्यक्ष अनिल गजमेर ।
करोडौं ठगी गरेको आरोपमा प्रहरीका विभिन्न निकायमा आफूविरुद्ध उजुरी परे पनि उनी भने शक्ति केन्द्र धाउँदै कारबाहीबाट बच्दै आएका छन् ।बालुवाटारस्थित कालिका टावरमा रहेको माइ इन्भेष्टमेन्ट कम्पनीका नाममा उनले ठगी धन्दा मच्चाउँदै आएका छन् । उनले आफ्नो कम्पनीमा लगानी गरे २० देखि २५ प्रतिशतसम्म ब्याज रकम पाउने, शेयर र मुनाफा पनि छुट्टै दिने भनेर प्रलोभनमा देखाउँदै ठग्ने गरेको पीडित बताउँछन् ।
उनीविरुद्ध काठमाडौं प्रहरी परिसरमा उजुरीका चाङ छन् । काठमाडौं जिल्ला अदालतमा ८ वटा मुद्दा दर्ता नै भइसकेको छ । तर, उनी भने उल्टै प्रहरीविरुद्ध नै उजुरी गर्दै हिँडेका छन् ।
प्रहरीविरुद्ध नै उजुरी
मेनपावर व्यवसायी राधिका कटुवालले एक महिनाअघि गजमेरबाट ठगिएको भन्दै काठमाडौं प्रहरी परिसरमा जाहेरी दिइन् । उनले दिएको जाहेरीमा उल्लेख भए अनुसार शेयर र मुनाफा छुट्टै दिने भन्दै उनलाई ३५ लाख रुपैयाँ लगानी गर्न लगाइएको थियो । त्यसको केही समयसम्म उनले मुनाफा त पाइन् तर, शेयर भने पाइनन् ।
‘मैले कम्पनीमा शेयर नपाएपछि रकम फिर्ता लिएँ । तर, त्यसको केही समयपछि शेयर दिने भन्दै फेरि पैसा मागियो’ जाहेरीमा भनिएको छ, ‘तर, त्यस पटक भने मैले न त मुनाफा पाए न त शेयर नै ।’
उनको उजुरीपछि प्रहरीले गजमेरलाई नियन्त्रणमा लियो । तर, त्यसअघि गजमेरले आफूलाई धरपकड गर्न खोजियो भन्दै निषेधाज्ञाको माग गर्दै उच्च अदालत, पाटनका पुनरावेदन दिएका थिए ।
अदालतले देवानी मुद्दामा व्यक्ति पक्राउ नगर्न भनी आदेश दियो ।
परिसरले उनलाई देवानी मुद्दामा नभइ, ठगी मुद्दामा पक्राउ गरेको थियो । तर, उनले भने अदालतमा मुद्दा हुँदा हुँदै पक्राउ गरिएको भन्दै गृहमन्त्रालयमा उल्टै प्रहरीविरुद्ध उजुरी हालेका छन् ।
उनी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेताको सहयोगमा गृहमन्त्रीसम्म पुगेको स्रोतको दाबी छ । कटुवाललाई भने उनले एक वर्षपछिको मिति राखेर लगानी बराबरको रकमको चेक दिएका छन् ।
काठमाडौं अदालतमा ८ मुद्दा, साढे २ करोड बिगो दाबी
प्रहरीका अनुसार गजमेरको ठगी गर्ने शैली एउटै छ । कम्पनीको ब्याज र शेयर दिन भन्दै पैसा लिन्छन्, रकम हात लागेपछि दिँदैनन् ।
०७४ पुसदेखि ०७५ बैशाखको अवधिमा गजमेरबाट पीडित ८ जनाले काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेका छन् । उनीहरुले साढे २ करोड बिगो माग दाबी गर्दै मुद्दा दायर गरेका हुन् ।

२८ पुस ०७४ मा सिन्धुलीको गोलन्जोर(२ का लोकहरि पौडेलले ४५ लाख ५१ हजार ६ सय ६७ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेका छन् ।
त्यस्तै २ वैशाख ०७५ मा काठमाडौं(१३ कि सुनिता बज्राचार्यले २ लाख ८७ हजार, काठमाडौं(१६ की अञ्जना बज्राजार्यले ३ लाख, २३ वैशाखमा कास्कीको पोखरा लेखनाथ(८ का इन्द्रबहादुर गुरुङले १५ लाख ६२ हजार ७ सय ७८ र वडा नं। १० का रामबहादुर गुरुङले ३६ लाख ५६ हजार ९ सय ४४ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा हालेका छन् ।
त्यस्तै, पोखराकै भुपालजंग कुँवरले ७० लाख ३२ हजार ५ सय, लक्ष्मीप्रसाद गुरुङले ३० लाख २५ हजार ५ सय ५५ र वीरबहादुर गुरुङले ३९ लाख ६ हजार ९ सय ४४ रुपैयाँ विगो दाबी गरेका छन् ।
राष्ट्र बैंकको इजाजतविनै कारोबार
स्रोतका अनुसार उनले कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनी दर्ता भएपछि हालसम्म लेखा परिक्षण प्रतिवदेन लगायतका कुनै पनि विवरण रजिष्ट्रारको कार्यालयमा पठाएका छैनन् । यो कम्पनीको ०६७ सालदेखि कम्पनी ऐन र प्रचलित कानुन बमोजित गर्नु पर्ने साधारणसभा समेत भएको छैन ।
कम्पनीमार्फत उनले उनले ४ सय जना व्यक्तिहरुलाई ठगी गरेको निष्कर्षसहित प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौं प्रहरी परिसरका एक अधिकारीका अनुसार राष्ट्र बैंकको इजाजत समेत नलिइ गजमेरले विभिन्न व्यक्तिसँग निक्षेप र कर्जा लिने काम गरेको भेटिएको छ, जुन राष्ट्र बैंक ऐन, २०५८ विपरीत हो ।

ताजा अपडेट