नेपाल ट्रस्टको जग्गामा अनियमितता, अर्वौको खेल


काठमाडौं, माघ । नेपाल ट्रष्टले आफू मातहातका जग्गा कौडीको भाउ भाडामा लगाएर अर्बौ रुपैया घोटाला गर्ने गरेको खुलासा भएको छ । प्रधानमन्त्रीलाई नै प्रभावमा पारि पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले आफ्नो कम्पनी थामसेर्कु टे«किङलाई ट्रष्टको दरबार मार्गमा रहेको ३० आना जग्गा कौडिको भाउमा हात पार्न सफल भएका हुन् । उनले ३० वर्षकालागि ३० आना जग्गा मात्र १ अर्ब ४९ करोड ६६ लाख रुपैयाँमा हात पारेका हुन् । जब कि ट्रष्टकै आर्थिक प्रस्ताव मूल्यांकन समितिले २०७३ साल असोज १९ गते निर्माण र लिज भाडा सहित ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार रुपैयाँ भन्दा कमको प्रस्ताव स्विकार नगर्ने निर्णय गरेको थियो । तर, शेर्पाले ट्रष्टकै समितिले तोकेको भन्दा करिब ५ अर्ब कम भाडा तिर्ने गरि भनसुन गरेका छन् । जग्गा भाडामा लगाउदा अर्बौको चलखेल देखिएपछि अहिले यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ ।
यस आर्थिक चलखेलमा ट्रस्टका सचिवले गरेको निर्णयलाई एक सहसचिवले लत्याउँदै ५ अर्ब रुपैयाँ घोटाला गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । जग्गा भाडामा दिनका लागि संरचना बनाउन ट्रस्टले बोलपत्र आह्वान गरेको थियो । परेका बोलपत्र प्रस्ताव दुई महिनामा खोलियो । नियमअनुसार ९० दिनभित्र प्रस्ताव स्वीकृत गरिसक्नुपर्ने थियो। परेका बोलपत्रको म्याद गुजारी ९ महिनापछि कानुनविपरीत पहुँचको फर्मको प्रस्ताव स्वीकृत गरी यति ठूलो रकम घोटाला गरिएको हो।
ट्रस्ट सञ्चालक समितिको २०७१ साउन २८ मा बसेको ३१ औं बैठकले करिब १ रोपनी १४ आना जग्गा भाडामा दिने प्रस्ताव स्वीकृत गरेको थियो। एक सहसचिवको मनोमानीमा साढे १ अर्ब रुपैयाँमा यससम्बन्धी सम्झौता भएको थियो। सचिवस्तरबाट भएको निर्णयभन्दा फरक निर्णय सहसचिवले गर्नु कानुनविपरीत भएको ठहरसहित महालेखाको प्रतिवेदनमा अनियमितता गर्नेलाई तुरुन्त छानबिन गरी कानुनको दायरामा ल्याउन सुझाइएको छ। यसरी निर्णय गर्ने सचिवमा अर्जुन कार्की थिए । अहिले उनी राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा सचिव छन । त्यस्तै सह सचिव भने लेख बहादुर कार्की थिए । यो नाम भने महालेखाको प्रतिवेदनमा खुलाइएको छैन।
यता अहिले भएका नेपाल ट्रस्टका सह सचिव यदुप्रशाद पन्थीले भने आफुलाई त्यो बिषयमा खासै जानकारी नभएको तर कुरा भने सुनिरहेको बताएका छन । त्यो विवरण अख्तियारले लगिसकेको भन्दै त्यो बिषयमा आफुले अध्ययन गर्न नपाएको उनी बताउछन ।
पर्यटन व्यवसायी आङछिरिङ शेर्पालाई भाडामा दिनुअघि संरचना बनाउन ३ वर्ष लाग्ने अनुमानसहित व्यावसायिक प्रयोगका लागि २७ वर्ष गरी ३० वर्षेको भाडासम्बन्धी कागजातसमेत स्वीकृत गरिएको थियो। उक्त भौतिक संरचनाबाट न्यूनतम मासिक ३७ लाख भाडा आउने सर्तसहित २०७३ असार १४ मा बोलपत्र प्रस्ताव माग गरिएको थियो।
ट्रस्टले सोही अनुमान ३० वर्षको लागि प्रस्ताव माग गर्नेगरी भाडासम्बन्धी कागजात स्वीकृत गरेको देखिन्छ । निर्माण लागत कम्तीमा २० करोड हुने अनुमानका आधारमा विगत ५ वर्षमध्ये ३ वर्षको कुल कारोबार रकम ३० करोड रुपैयाँ हुनुपर्ने महालेखाले औंल्याएको छ । न्यूनतम भाडा मासिक ३७ लाख ४९ हजार ९ सय ७२ रुपैयाँ हुनेलगायतका सर्तसहित २०७३ असार १४ मा बोलपत्र प्रस्ताव आह्वान गरेको महालेखाले उल्लेख गरेको छ ।