मित्रताको हात बढाउँदै पाकिस्तान सम्वन्ध विगार्दै मोदी

काठमाडौं, जेठ– लोकसभा निर्वाचनमा भारी मतले जित हासिल गरेको भारतीय जनता पार्टीका तर्फबाट नरेन्द्र मोदीलाई नै प्रधानमन्त्री हुने भएका छन् । लोकसभा निर्वाचनमा भाजपा नेतृत्वको एनडिए गठबन्धनले ३५२ सिट प्राप्त गरेको छ भने भाजपाले मात्र ३०३ सिट प्राप्त गरेको छ । विजयी भएलगत्तै शनिबार मोदी संसदीय दलको नेता चयन भएका थिए ।

मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्र लगायत आठ देशको सहभागिता रहने भएको बताइएको छ । बिमस्टेकमा भारत लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राष्ट्रहरु सहभागी रहेका छन् । यस संगठनमा ७ देशको प्रतिनिधित्व रहेको छ । जसमा भारतका अलवा नेपाल,बंगलादेश, म्यानमार,श्रीलंका, थाइल्यान्ड, भुटान रहेका छन् । यी सबै देशबाट सपथ समारोहमा प्रतिनिधित्व हुन लागेको हो । त्यसबाहेक किर्गिस्तान र मौरेससबाट समेत प्रतिनिधित्व हुने जनाइएको छ ।

यसअघि सन् २०१४ मा भएको सपथ समारोहमा सार्क मुलुकका राष्ट प्रमुखहरुलाई निमन्त्रणा गरिएको थियो । त्यसबेला पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ पनि सपथ समारोहमा सहभागी भएका थिए । तर यो पटक भने भारतले पाकिस्तानलाई निमन्त्रणा दिएको छैन् । पाकिस्तान सार्क सदस्य राष्ट्र भएपनि बिमस्टेकमा भने उसको प्रतिनिधित्व छैन । यसअघि साकै मुलुकका प्रमुखहरुलाई निमन्त्रणा दिने परम्परालाई भारतले यसपटक तोडेको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण १८ औं शिखर सम्मेलन सम्पन्न भएयता सार्क शिखर सम्मेलन हुन सकेको छैन । यसअघि १९ औं शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा गर्ने तयारी गरिए पनि भारतले अस्वीकार गरेपछि स्थगित भएको थियो ।

लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले भारी मतले जित हासिल गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई दिएका थिए । प्रधानमन्त्री खानले वधाई दिएपछि २ देशबीचको सम्बन्धमा थप सुधारका संकेत देखिएको थियो । तर भारतले बिमस्टेक सदस्य राष्ट्रहरुलाई निम्ता दिने नाममा सार्क संगठनको अस्तित्वलाई नै ओझेलमा पार्ने किसिमले तयारी गरेपछि यो पटकको सपथ समारोहमा पाकिस्तान छुटेको छ ।

पछिल्ला वर्ष दुई देशबीच देखिएको तनावका कारण भारतले पाकिस्तानलाई महत्व नदिएको विश्लेषण गर्ने गरिएता पनि दक्षिण एसियामा सार्क संगठन र यसको महत्वलाई फिक्का बनाउने रणनीति लोकसभा निर्वाचनका क्रममा भारतीय जनता पार्टीले जारी गरेको घोषणापत्रमै देखिएको थियो । सो घोषणापत्रमा बिमस्टेकलाई बढी महत्व दिइएको छ भने सार्क संगठनको नामै लिइएको छैन । त्यसैले त्यसको असर प्रधानमन्त्रीको सपथ समारोहमा समेत देखिएको छ । भारतको यो कदमले पाकिस्तानी प्रधानमन्त्री खानले सुरुमै देखाएको कुटनीतिक मर्यादालाई समेत लत्याएको विश्लेषण गर्न थालिएको छ ।