जेलभित्र ‘ग्याङ फाइट’, कम्तीमा ५७ जनाको मृत्यु

जेलभित्र ‘ग्याङ फाइट’, कम्तीमा ५७ जनाको मृत्यु

काठमाडौं, साउन । दक्षिण अमेरिकी मुलुक ब्राजिलको एक जेलभित्र दुई समूहको लडाइँ (ग्याङ फाइट) हुँदा कम्तिमा ५७ जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार सोमबार बिहान सात बजे पारा प्रान्तको अल्टामिरा जेलमा दुई विपक्षी समूहको लडाइँ भएको हो। पाँच घन्टासम्म चलेको लडाइँको क्रममा १६ जनाको घाँटी काटिएको अधिकारीहरूले जनाएका छन्।

जेलका अधिकारीहरूलाई नियन्त्रणमा लिएर एक ब्लकका कैदीहरू अर्को ब्लकमा गएर लडाइँ गरेका थिए। उनीहरूले जेलभित्र आगो लगाइदिएकाले अरू कैदीको निसास्सिएर मृत्यु भएको हो।

ब्राजिलका जेलभित्र हिंसात्मक झडप हुनु नौलो घटना भने होइन।

यसअघि गत मेमा अमाजोनस प्रान्तको एक जेलमा भएको झडपमा परी ४० जना कैदीले ज्यान गुमाएमा थिए। २०१७ को जनवरीमा विभिन्न जेलमा भएका झडपमा १३० जना बढी मारिएका थिए।

ब्राजिलका जेलमा झडप हुनुको प्रमुख कारणमध्ये क्षमताभन्दा बढी कैदी हुनु हो । सोमबार झडप भएको पारा प्रान्तको अल्टामिरा जेलको क्षमता २ सय जनाको हो तर त्यहाँ ३ सय ९ जना कैदी राखिएका थिए ।

ब्राजिल संसारकै तेस्रो बढी कैदी भएको देश हो । त्यहाँका जेलमा सात लाख बढी कैदी छन् ।

ब्राजिलका जेलमा ग्याङ फाइट भइरहन्छन् । ब्राजिलका दुई शक्तिशाली समूहहरू साओ पाउलोको फस्ट क्यापिटल कमाण्ड ड्रग ग्याङ र रियो द जेनेरियोको रेड कमाण्डका कैदीबीच जेलमा झडप हुन्छ ।

ताजा अपडेट