इबोला संक्रमणबाट दुई हजारको मृत्यु

कंगो, भदौ । प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको प्रकोपबाट वार्षिक दुई हजारजनाको ज्यान गएको बताइएको छ।इबोला संक्रमितको संख्या तीन हजार थियो र उनीहरूमध्ये दुई हजारको उपचारका क्रममा ज्यान गएको अधिकारीले जनाएका छन् ।

कंगोको स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको स्वास्थ्य बुलेटिनमा दिइएको जानकारीअनुसार संक्रमणबाट २ हजार ५ जनाको ज्यान गएको छ । तीमध्ये १ हजार ९०१ जना उक्त इबोला संक्रमित नै भएको प्रमाणित भएको थियो । उक्त संक्रमण कंगोको उत्तरी किबु प्रान्तमा सन् २०१८ को अगस्टमा देखा परेको थियो । पछि उक्त प्रान्त हुँदै कंगोको इतुरी प्रान्तमा प्रकोप फैलिएको थियो ।

स्वास्थ्य अधिकारीले उक्त संक्रमणबाट प्रभावित ९०२ जना भने उपचारपछि निको भएको जानकारी दिएका छन् । अस्पतालमा राखी लामो समयसम्म गरिएको उपचारबाट ९०२ जना विरामी निको भएको जनाइएको छ ।

यो संक्रमणको नाम इबोला उत्तरी कंगोको नदीको नामबाट राखिएको छ। उक्त नदी क्षेत्रमा यस संक्रमणका विरामी सन् १९७६ मा फेला परेका थिए। यो संक्रमणबाट अफ्रिकी देशबाट हजारौँ नागरिकको ज्यान गएको छ। अफ्रिकी देशमा केही वर्षदेखि यसको प्रकोप नराम्रोसँग फैलिएका समाचार आइरहेका थिए।

यस संक्रमणबाट गुएना, सियरा लियोन, लाइबेरियामा धेरै मानिसको ज्यान गएको छ। पछिल्लो सयम सन् २०१४ मा यो संक्रमणले धेरै नागरिकको ज्यान लिएको थियो। सन् २०१४ देखि शुरु भएको यस संक्रमणबाट दुई वर्षमा कम्तीमा पनि ११ हजार मानिसको ज्यान गइसकेको बताइएको थियो। त्यसपछि विश्व स्वास्थ्य संगठनले यस प्रकोपलाई महामारीका रूपमा घोषणा गरेको थियो।

विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्य क्षेत्रकै संकटकालका रूपमा घोषणा गरेको थियो। उक्त संगठनको पहलमा खोपको विकास गरी पछि प्रभावित देशका कम्तीमा पनि २ लाख मानिसलाई इबोलाविरुद्धको खोप लगाइएको थियो।

अहिले पनि ती देशमा यो संक्रमण जनस्वास्थ्यकै प्रमुख समस्याका रूपमा रहेको छ। ती देशका सरकारले इबोलाविरुद्ध विशेष सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गर्ने गर्छन्।