आरोप मात्रै लगाउने माथि त मेरो भन्नु केही छैन : महासचिव पौडेल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर विकास निर्माणको कामलाई अगाडि बढाएको छ । जनताको विकास र समृद्धिको चाहनालाई आफ्ना नीति तथा कार्यक्रममार्फत अभिव्यक्त गरेको छ । सरकार गठन भएको दुई वर्ष पुग्नै लाग्दा नेकपाले पार्टीको एकता प्रक्रियालाई पनि पूर्णता दिएको छ । एकाधबाहेक सबै काम सम्पन्न भएका छन् । राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा सरकारले राष्ट्रिय सहमतिसमेत कायम गरेको छ । यसै सन्दर्भमा केन्द्रित रहेर महासचिव पौडेलसँग गरेको अन्तरर्वार्ताको सम्पादित अंश ः

नेकपाको एकता प्रक्रिया करीब करीब टुङ्गो लागेको छ, अब पार्टीलाई कसरी अगाडि बढाउने योजनामा हुनुहुन्छ ?

हामीले केन्द्रीय तहमा सम्पन्न गरेको एकता प्रक्रियालाई आधारभूत तहसम्म लानका लागि केही लामो समय लाग्यो । एकता प्रक्रिया मूलभूतरूपमा टुङ्गिएको छ । अब केही काम मात्रै बाँकी छ । बाँकी रहेका काम पनि हामी छिट्टै सम्पन्न गर्छौँ । हामी छिट्टै स्थायी कमिटीको बैठक गरेर समग्र नेता तथा कार्यकर्तालाई परिचालनसिहत देशभर नै विशेष राष्ट्रिय अभियान सञ्चालन गर्दैछौँ । अभियानलाई विशेषगरी दुई÷ तीन वटा विषयमा केन्द्रित गर्न खोजेका छौँ, त्यसमा एकता र यसको राजनीतिक महत्व, नेपाली राजनीतिमा पारेको प्रभाव तथा यसले दिएको सन्देश आम कार्यकर्ता र जनतामा प्रभावकारीरूपमा सम्प्रेषण गर्न चाहन्छौँ ।

दोस्रो, हाम्रो पार्टी निर्माण र सञ्चालनका विधि र व्यवस्था के छ ? दुई फरक पार्टी कसरी एक भएका छौँ । पार्टी निर्माण र सञ्चालनका लागि हामीले कस्तो वैधानिक व्यवस्था गरेका छौँ भन्ने सिङ्गो पार्टीको एकरुप विचार होस् भन्ने विषय समावेश गर्छौँ । तेस्रो, दुई पार्टीको अलग–अलग सैद्धान्तिक कार्यक्रम र नीतिगत मान्यता थिए । ती सैद्धान्तिक एवं नीतिगत कार्यक्रम र मान्यतालाई हामीले एउटा धारणा र मान्यतामा बदलेका छौँ ।

एकीकृत पार्टी त्यसका आधारमा परिचालित हुन्छ, सैद्धान्तिक, कार्यक्रमिक र नीतिगत प्रश्नमा कस्ता मान्यता बढेर अगाडि बढ्दैछ भन्ने कुरा कार्यकर्ता र जनतामा पु¥याउन चाहन्छौँ । चौथो, हामी तीनै तहको सरकारको नेतृत्व गरिरहेका छौँ । सङ्घीय सरकारको नेतृत्व, प्रदेश सरकार र अधिकांश स्थानीय सरकारको नेतृत्वमा छौँ । स्थानीय, प्रादेशिक र सङ्घीय तहमा हामीले सरकारका तर्फबाट केही महत्वपूर्ण काम गरेका छाँै । ती कामका बारेमा कार्यकर्ता र जनताका तहमा एकमुष्ट बुझाइका साथ जानकारी दिन चाहन्छौँ । सरकार कसरी अगाडि बढ्छ, राष्ट्रिय राजनीतिमा नेकपाले कस्तो भूमिका निर्वाह गर्छ । यो सगम्र विषयमा पार्टीपङ्क्ति र जनसमुदायलाई एकसाथ प्रशिक्षित गर्ने अभियान लिएर जान्छौँ । 

० पार्टी एकता प्रक्रियाले लामो समय लाग्दा कार्यकर्ता तहमा एक प्रकारको निराशा उत्पन्न भयो भन्ने गुनासो पनि थियो । त्यसलाई नेकपाले सञ्चालन गर्ने अभियानले एउटा सूत्रमा जोड्न सक्छ त ?

पार्टी एकता प्रक्रियाले लामो समय लिँदा केही समस्या जरुर उत्पन्न भए । कार्यकर्ता निश्चित समयसम्म त्यत्तिकै रहँदा केही अन्योल देखाप¥यो । त्यो अस्थायी परिदृश्य थियो । कुनै शाश्वत परिदृश्य होन तर प्रक्रियाले एउटा गति लिएपछि ती सबै विषय हराएर गएका छन् । अब पार्टी नयाँ विचार, नयाँ सोच, नयाँ कार्यक्रमका साथ अगाडि बढ्छ । कुनै दुविधा रहँदैन । एकता प्रक्रियामा सबै काम सकिएको छ । केही काम बाँकी छ, ती सबैलाई हामी छिट्टै टुङ्गो लगाउँछौ । एकता प्रक्रियाले लामो समय लिँदा उत्पन्न भएको अन्योल अन्त्य भइसकेको छ । 

०नेकपाले सञ्चालन गर्ने अभियानमा के कस्ता विषय बढी समेटिन्छन् ?

हामी सरकार र पार्टी सञ्चालनलाई जीवन्त बनाउन लागेका छौँ । सरकार र पार्टीको सम्बन्धलाई जीवन्त बनाउँदै जनता र कार्यकर्तालाई सरकारका कामसँग जोड्दै सिङ्गो राष्ट्र र आमनागरिकलाई विकास र समृद्धि सामाजिक न्यायतर्फ परिचालित गर्छौ । पार्टीलाई सुदृढ, व्यवस्थित तुल्याउँछौँ । पार्टीको आन्तरिक कामको प्रभावकारी व्यवस्थापन, कार्यकर्ताको प्रभावकारी परिचालन गर्छौँ । पार्टी र सरकारलाई एकापसमा जोडेर विकास निर्माण तथा समृद्धि अभियान पनि सँगै जोडेर हामी जनताको माझमा जान्छौँ । त्यसले पार्टी र सरकारको पक्षमा नयाँ उभार पैदा गर्छ भन्ने हाम्रो विश्वास छ ।

० पछिल्लो सचिवालयको बैठकले पार्टीभित्र विशेषगरी अध्यक्षद्वयको कार्यविभाजनमा समेत महत्वपूर्ण निर्णय गरेको छ । त्यसले पार्टीलाई अझ थप गति दिन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

हामीले सचिवालयको बैठकबाट गरेका निर्णयका बारेमा अनेक प्रकारका व्याख्या भएका छन् । पछिल्लो निर्णय स्पष्ट भाषामा गरेका छौँ । त्यहाँ कुनै नबुझिने पदावली छैन । हाम्रो पार्टीको विधानले दुई अध्यक्षको व्यवस्था ग¥यो । अध्यक्षका लागि निश्चित प्रकारको अधिकारसहितको कामको व्यवस्था पनि गरेको छ । बैठकको अध्यक्षतासमेत संयुक्तरूपमा गर्ने व्यवस्था ग¥याँै । विधानको सो व्यवस्थालाई नै केन्द्रमा राखेर निर्णय गरेका छौँ । विधानको व्यवस्थालाई बाझिने गरेर निर्णय गरेका छैनौँ । विधानसम्मत् निर्णय गरेको हो । विधानले निश्चित गरेको विधिअनुसार दुई अध्यक्षलाई कार्यकारी अधिकार दिइएको छ । पछिल्लोपटक हामीले गरेका स्पष्ट निर्णय के हो भनेदेखि हाम्रा सामुमा कामका दुई महत्वपूर्ण क्षेत्र प्रकट भए । पार्टीमा दुई अध्यक्ष पनि हुनुहुन्छ । कामको क्षेत्र पनि दुई नै छन्् । त्यसो भएको हुनाले एक अध्यक्ष सरकारको काममा बढी केन्द्रित हुनुहुन्छ । अर्का अध्यक्ष पार्टीको काममा केन्द्रित हुनुहुन्छ । सरकारको काम वा पार्टीको काममा केन्द्रित हुँदा पनि पार्टी र सरकार सञ्चालनको विषयमा सघन छलफल र संवाद भने भइहाल्छ नै । यसो भनिरहँदा सरकारको काममा केन्द्रित हुने अध्यक्षले पार्टीको बैठकको कहिल्यै पनि अध्यक्षता नगर्ने भन्ने होइन । आवश्यकता पर्दा सरसल्लाहमा गरेर पार्टीको काममा पनि लाग्नु हुनेछ । प्रधानमन्त्री सरकारको काममा केन्द्रित हुँदा पार्टीको सबै काममा उपस्थित नहुन पनि सक्नुहुन्छ । पार्टीको काममा केन्द्रित हुने अध्यक्षले अध्यक्षता पनि गर्नुहुन्छ । त्यसो भन्दै सकारको नेतृत्व गर्ने अध्यक्षसमेत पार्टीको काममा नरहने भन्ने हुँदैन । पार्टीको काममा रहने अध्यक्षले सरकारको काममा समेत आवश्यक सहयोग गर्नुहुन्छ । त्यसो गरिरहँदा पनि दुई वटै अध्यक्ष बैठकमा उपस्थित हुने अवस्थामा पनि कस्तो विषयमा छलफल गर्ने, कस्तो प्रस्ताव लैजाने भन्नेजस्ता विषयमा दुवै अध्यक्षबीच छलफल हुन्छ । आपसी सल्लाह हुन्छ । सामूहिक निर्णय नै हुन्छ । 

०महाधिवेशन नहुँदासम्मको अवस्थामा यसैगरी दुई अध्यक्षले नै पार्टीलाई सञ्चालन गर्नुहुन्छ भन्ने हो अब ?

यो विधान जहिलेसम्म रहन्छ, त्यत्तिबेलासम्मका लागि यो व्यवस्था हो । आगामी महाधिवेशनले जस्तो व्यवस्था गर्छ, सोहीअनुसार नै होला । हामीले पार्टी एकता ग¥याँै । पार्टी एकतापछि विधान बनायौँ, यो अन्तरिम विधान हो । आगामी महाधिवेशनसम्मका लागि हो । महाधिवेशनले कति पदाधिकारीको व्यवस्था गर्छ । कस्तो साङ्गठनिक व्यवस्था गर्छ, त्यो महाधिवशेनको क्षेत्राधिकारको व्यवस्था हो । 

० पार्टी एकताको क्रममा दुई अध्यक्षको बीच भएको भनिएको गोप्य सहमतिलाई सचिवालयको पछिल्लो बैठकले थप स्पष्ट पारेको हो कि ? त्यो नयाँ सहमति हो ?
पार्टी एकताको पूर्वसन्ध्यामा वा पार्टी एकता हुनु ठिक अगाडि स्वाभाविकरूपमा सरकारको नेतृत्वलगायत कतिपय विषयमा केही ‘अन्डरस्ट्याण्डिङ’ भएका थिए । पछिल्लो बैठकले विगतको समझदारीलाई ‘रिप्लेस’ गरिदिएको छ । यस कार्यकालमा सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । हामी सरकारको नेतृत्व बदल्ने हिसाबले यो कार्यकालमा सोच्दैनाँै । जनताले राजनीतिक स्थायित्व चाहेका हुन् । स्थिरता चाहेका हुन् । विकासको मार्गमा मुलुक अगाडि बढोस् भन्ने चाहेका हुन् । स्थायित्व, स्थिरताको चाहना पनि छ । राष्ट्रिय आवश्यकता पनि छ । यस्तो अवस्थामा सरकारको नेतृत्व बदल्ने कुरा सोच्नु हुन्न । यो कार्यकालको नेतृत्व केपी शर्मा ओलीले गर्नुहुनेछ भनेर लेखिएको छ । त्यसले गर्दा पुरानो समझदारी विस्थापित गरेको छ । यसको अर्थ पुरानो समझदारी लागू हुने होइन, यो निर्णय राजनीतिक स्थायित्वको सन्देश दिनका लागि हो ।

० एकता प्रक्रियाले गति लिएको र अध्यक्षद्वयको विषयमा समेत सचिवालयले स्पष्ट निर्णय गरेपछि तपाईँ पछिल्ला दिनमा देशका विभिन्न स्थानमा पुग्नुभयो । कस्तो पाउनुभयो नेता÷कार्यकर्ताको मनोविज्ञान ?

नेकपाको पक्षमा अभूतपूर्व उत्साह छ । देश र जनताको पक्षमा नेकपा लागेको छ । पार्टी एकता प्रक्रियाले गति लिएको र जनपक्षीय काम गरेकोमा जनताले नेकपालाई थप विश्वास गरेका छन् । थप निर्देशित गरेका छन् । थप एकीकृत र सङ्गठित भएका छन् । जनतामा विश्वासको मात्रा अझै बढेर गएको छ ।

०त्यसका केही आधारहरू छन् तपाईसँग ?

नेकपाले राजनीतिक स्थायित्व सुनिश्चित ग¥यो । आर्थिक समृद्धि र विकासको मार्ग तय ग¥यो । देशको स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डताको पक्षमा अभूतपूर्व काम गरेको छ । जनता र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिएको छ । छिमेकीसँगको सम्बन्धलाई नेपालको हितलाई केन्द्रमा राखेर अन्तरराष्ट्रिय सम्बन्धलाई अगाडि बढायो । नेपालको अन्तरराष्ट्रिय क्षेत्रमा इज्जत माथि उठायो । विकासका नयाँ–नयाँ आयामहरू अगाडि बढायो । मानिसले पानीजहाजलाई लिएर खिसीट्युरी गर्दै आएका थिए । अहिले कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । सुरुङमार्गमा नयाँ अध्याय सुरु हुँदैछ । यही सरकारको कार्यकालमा भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । विकास निर्माणको कामले गति लिएको छ । सम्पर्क सञ्जाल विस्तारको हिसाबले एक साथ वीरगञ्जबाट काठमाडौँमा रेल आउने र केरुङबाट काठमाडौँमा रेल आउने दुई छिमेकी देशसँग एकसाथ प्रक्रिया अगाडि बढेका छन् । धेरै महत्वपूर्ण काम यसबीचमा भएका छन् । यो नेकपाको सरकारले विकासका दृष्टिकोणमा पनि नयाँ भिजनका साथमा अगाडि बढ्यो । सामाजिक न्यायको प्रश्नमा पनि त्यसैगरी अगाडि बढेको छ । नेपालको हितलाई केन्द्रमा राखेर नेपालको सम्बन्ध नयाँ आधारमा परिभाषित गरेको छ । सरकार र पार्टी लोकतन्त्र, राष्ट्रियताप्रति सर्मपित छ । विकासको काममा केन्द्रित छ । अविकास, पछौटेपन, गरीबीको विरोधमा छ । त्यसलाई हटाउन लागिपरेको छ । यी आदि कारणले नेकपा नै हो नेपाललाई ठिक दिशामा लैजान्छ भन्ने भरोसा आम नागरिकमा छ । 

०पार्टीको स्थायी र केन्द्रीय कमिटीको बैठक नबसेको पनि लामो समय भयो, पार्टीभित्रै बैठकको माग उठेको छ ? अब बहिले बस्छ बैठक ?

स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गर्न हामीलाई धेरै हतारो भइसकेको छ । छिटोभन्दा छिटो बैठक बोलाउने तरखरमा हामी छाँै । त्यसका लागि गर्नुपर्ने केही पूर्वकार्य बाँकी छन् । ती पूर्वकार्य पूरा गरेर छिटोभन्दा छिटो हामी बैठक बोलाउँछौँ र पार्टीलाई नयाँ जीवन प्रदान गर्छौँ । नयाँ अभियान लिएर जान्छौँ ।

० सरकार गठन भएको दुई वर्ष हुन लाग्यो, तर काम कारवाही र भूमिकाप्रति गुनासो सुनिन्छ, सोचेअनुसार काम गर्न सकेन भन्ने टिप्पणी छ । यसलाई कसरी लिनुहुन्छ ?

सरकारले राम्रो र प्रभावकारी तवरले काम गरेको छ । नतिजामुखी ढङ्गले काम गरेको छ । अझै नतिजामुखी तवरले काम गर्ने ठाउँ छ कि छैन त भन्दा त्यो अवश्य पनि छ । जतिसुकै राम्रो गरे पनि थप राम्रो गर्नुपर्छ भन्ने हुन्छ । सरकारले गरेका काम कारवाही राम्रा–नराम्रा के छन् भनेर खुला हृदयका साथ विश्लेषण गर्ने हो भने निःसन्देश यो सरकार गठन भएको करीब दुई वर्ष हुन लागेको अवधिमा ऐतिहासिक महत्वका काम भए । त्यसले गर्दा, सरकारको कामसँग समयमावधिसँग तुलना गर्नुहुन्छ भने सरकार सफल छ । प्रभावकारी छ । गतिमा छ भन्ने मेरो स्पष्ट बुझाइ छ । 

०तपार्इँ यसो भन्दैहुन्छ, तर प्रमुख प्रतिपक्षले त सरकारले केही काम नै गर्न सकेन ? यत्रो जनमत पाएर पनि काम भएन भनिरहेको छ नि ?

मेरो ध्यान आरोपतर्फ केन्द्रित छैन । कसलाई के आरोप लगाउन मन छ । फुर्सद हुनेले, मन हुनेले आरोप लगाए हुन्छ । नेकपाको ध्यान त्यतातिर छैन । सरकार र पार्टीको ध्यान परिस्थितिले हाम्रा निम्ति निर्माण गरेका अभिभारा के हुन् ? जिम्मेवारी के हुन् त्यो कसरी पूरा गर्ने भन्नेतिर नै छ । हामी जिम्मेवारी पूरा गर्न लागेका छौँ । आरोपको खण्डन गर्ने समय छैन । हामी काममा केन्द्रित छौँ, अरु विषयमा हामीलाई खासै चासो छैन ।

०प्रदेश सरकारलाई अधिकार नदिइएको, काम गर्न रोकेको र सङ्घीयता नै असफल बनाउन लागेको भन्ने जस्ता आरोप पनि छ नि ?

काम कारवाहीलाई सुक्ष्म तवरले विश्लेषण गर्ने तथा संवैधानिक व्यवस्थालाई हेर्ने हो भने यो सरकारले गरेको विभिन्न महत्वपूर्ण काममध्ये संविधानको कार्यान्वयन हो । संविधानको कार्यान्वयनसँग गासिएको कानून निर्माण पनि हो । दर्जनौँ कानून यसबीचमा बने । ती कानूनहरू संविधानको कार्यान्वयनसँग जोडिएको छ । सङ्घीयताको कार्यान्वयनसँग सम्बन्धित छ । सङ्घीयताको विरुद्धमा यो सरकार छ भन्ने कोही कसैले पत्याउनेवाला छैन । सङ्घीयता कार्यान्वयनका लागि यो सरकारले बनाउनुपर्ने कानून बनाएको छ । तथ्य यही हो । यो तथ्यलाई अनदेखा गरेर आरोप मात्रै लगाउने माथि त मेरो भन्नु केही छैन । 
+ posts

सम्वन्धित समाचार

ओलीले यता न उता मुलाबारी भित्ता पुर्याए नि कमरेड ! भन्दै यी नेता गए माधव कमरेडको शरणमा

काठमाडौं । नेकपा एमालेका तेस्रो धार भनिएका नेताहरु अध्यक्ष ओलीको पेलानमा परेपछि माधव नेपालसँग क्षमायाचना गर्न थालेका छन् ।

दशैं नलागी कौडा खेल्दा प्रहरीले मार्यो कौडा खालमा छापा

झापा । दशैं लागिसकेको छैन । अझै त पितृपक्ष नै छ । तर, जुवा खेल्ने काैडेबाझहरूलाई के दशैं के तिहार ? वश समय...

ताजा समाचार

ओलीले यता न उता मुलाबारी भित्ता पुर्याए नि कमरेड ! भन्दै यी नेता गए माधव कमरेडको शरणमा

काठमाडौं । नेकपा एमालेका तेस्रो धार भनिएका नेताहरु अध्यक्ष ओलीको पेलानमा परेपछि माधव नेपालसँग क्षमायाचना गर्न थालेका छन् ।

दशैं नलागी कौडा खेल्दा प्रहरीले मार्यो कौडा खालमा छापा

झापा । दशैं लागिसकेको छैन । अझै त पितृपक्ष नै छ । तर, जुवा खेल्ने काैडेबाझहरूलाई के दशैं के तिहार ? वश समय...

६० वर्षीय वृद्धले हजार रुपैयाँको लोभ देखाई १२ वर्षीया बालिकालाई करणी

जनकपुरधाम । ६० वर्षीय वृद्धावस्थामा मान्छे जीवन र मरणको दोसाँधमा पुगिसकेको हुन्छ तर, कोहीकोहीचाँहि अचाक्ली छिल्लिएका पनि हुन्छन् । यस्तै भयो धनुषामा...

सुनको भाउलाई दशैं लाग्यो

काठमाडौं । सुनको भाउलाई दशैं लागेको छ । सुनको मूल्य बुधबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य...

धर्मान्ध तालिबानले अफगानका छात्रालाई विद्यालय पठाउने !

काठमाडौं । अफगानिस्तानका छात्रालाई जतिसक्दो चाँडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ । तालिबानले आफूहरूलाई विद्यालय नबोलाइएको भन्दै...