भूमिसुधारका नासु र कार्यालय सहयोगी ४० हजार घुस सहित रङ्गेहात पक्राउ


काठमाडौं ,पुस । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । उनले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी (करार) लाई भाईकाजी गौतमलाई रु ४०,०००।– दिनु भनी घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट ४० हजार घुस सहित मिश्र गौतम दुवैलाई नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका नायव सुब्वा नारायणराज मिश्रले सेवाग्राहीको मोही लगतकट्टा गरिदिने प्रयोजनको लागि लेखापढी व्यवसायीमार्फत घुस पाए काम गरिदिने भनी नियमानुसार गर्नुपर्ने कामको लागि बहाना बनाई उक्त कार्यालयका कार्यालय सहयोगी भाईकाजी गौतमलाई घुस वापतको रकम लिन लगाएका थिए ।
सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्याशं बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

घुस लिएपछि मोही लगतकट्टा गर्ने निर्णय कागजात दिएको समेतबाट नायव सुब्बा नारायणराज मिश्रले घुस माग गरी बुझ्न लगाएको प्रमाणित भएको भन्दै आयोगले नारायणराज मिश्रलाई बिगो ४० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिएको छ ।

साथै भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय सहयोगी भाईकाजी गौतमले घुस वापतको रकम हो भन्ने थाहा हुँदा पनि हाकिमले दिएको निर्देशन पालना गरी सेवाग्राहीका लेखापढी व्यवसायीबाट ४० हजार बुझेको भन्दै गौतम समेतलाई ४० हजार विगो कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

भर्खरै