लकडाउनमा जुम्लाका जनतालाई म्याद नाघेको आयोडिन नुन


जुल्ला, ३ वैशाख । मुलुकमा अप्ठेरो परिस्थिति रहेका बेला जनतालाई सहज आपूर्ति गर्नु पर्ने साल्ट ट्रेडिङ्ग लिमिटेडले वितरण गर्दै आईरहेको नूनमा पनि घोटाला भएको छ । जुम्लाका जनतलाई अहिले म्याद नाघेको आयोडिन नून वितरण भर्यरहेको छ ।

लकडाउनका कारण आफैँ मर्कामा परेका जुम्लाका विपन्न परिवारलाई हिमा गाउँपालिकाले म्याद नाघेको नुन वितरण गरेको थियो । स्थानीय जनताले गुनासो गरेपछि प्रशासनले नुन वितरणमा रोक लगाएको छ ।

गाउँमा वितरण नुनको प्याकेटमा उत्पादन मिति क्रमशः २०१६ र २०१७ उल्लेख छ, नुन दुई वर्षसम्म मात्र प्रयोग गर्न मिल्ने पनि प्याकेटमै लेखिएको छ । तर, अहिले सन् २०२० हो । ‘म्याद नाघेको नुन वितरण भएको भन्दै मौखिक मात्र होइन, लिखित उजुरी आएको छ, त्यसैले वितरणमा रोक लगाइएको हो,’ प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन् ।

म्याद नाघेको नुनले मानव स्वास्थ्यमा असर गर्छ या गर्दैन, नुनको गुणस्तर तथा सत्यतथ्य सुनिश्चित गरी लिखित जवाफ दिन साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय सिँजालाई पत्र लेखिएको पनि प्रजिअ बन्जाडेले बताइन् ।

हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले राहत वितरण गर्दा म्याद नाघेको नुन भेटिएको स्वीकार गरे । उनले भने, ‘सुरुमा हामीले ख्याल गरेनौँ, पछि मात्र म्याद नाघेको थाहा भयो । प्रशासनले भनेपछि अहिले वितरण गरेका छैनौँ ।’ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड जुम्लाका प्रमुख खगेन्द्र मल्लले म्याद नाघेको नुनमा आयोडिन भए–नभएको निर्क्योल गर्न ल्याब परीक्षणको तयारी भएको बताए ।

गाउँपालिकाले म्याद नाघेको नुन बाँडेको भन्दै स्थानीय प्रतिभा शाहीले प्रशासनमा लिखित उजुरीसमेत दिएकी छिन् । कांग्रेसका नेता लक्ष्मण शाहीले म्याद नाघेको नुन वितरण गरिएको भन्दै विरोध गरे । ‘यस विषयमा स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय जुम्लालाई छानबिन गरी कारबाही गर्न माग गरेका छौँ,’ उनले भने ।