प्रहरी निरीक्षक सहित ३ जनालाई भ्रष्टाचार मुद्धा दायर

काठमाडौं । हुण्डी कारोरबार गर्ने व्यक्तिसँग घुस खाएको आरोपमा बीरगञ्ज पर्साका प्रहरी निरीक्षक पूर्ण बहादुर तामाङ, प्रहरी हवल्दार विष्णु दयाल चौधरी र प्रहरी जवान अवधेश रायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अस्थायी प्रहरी पोष्ट, इनर्वागाउँ, वीरगञ्ज, पर्साका प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङ, प्रहरी हवल्दार बिष्णु दयाल चौधरी र लागू औषध नियन्त्रण व्यूरो, शाखा कार्यालय, बीरगञ्ज, पर्साका प्रहरी जवान अवधेश रायले प्रहरी जवान राज कुमार गुरुङसँग मिलेर अपरिचित हुण्डी कारोवारीले साथमा लिई आएको अवैध बीस लाखबाट एक लाख पच्चीस हजार, लागू औषध नियन्त्रण व्यूरो, वीरगञ्ज शाखाका प्रहरी जवान अवधेश रायलाई, एक लाख दश हजार, अस्थाई प्रहरी पोष्ट, इनर्वागाउँ, वीरगञ्ज, पर्साका प्रहरी हवल्दार बिष्णु दयाल चौधरीलाई पैसठ्ठी हजार, अन्य सहयोगीहरुलाई दिनको लागि प्रहरी हवल्दार बिष्णु दयाल चौधरीलाई र बाँकी चार लाख प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङले आफैसँग राखेको आरोप पत्रका उल्लेख गरिएको छ ।

आरोप पत्रमा सात लाख घुस लिएको देखिंदा प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङ, प्रहरी हवल्दार बिष्णु दयाल चौधरी र प्रहरी जवान अवधेश रायलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा सात लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय एवं आरोपीहरुबाट बरामद भई आएको छ लाख पैतीस हजार र नपुग रकम पैसठ्ठी हजार समेत सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुने मागदाबी समेत गरिएको छ ।