जिल्ला समन्वय समिति कैलाली प्रमुखको कर्मचारीमाथि दादागिरी

जिल्ला समन्वय समिति (जिसस) कैलालीका प्रमुख सूर्यबहादुर थापाले सरकारी गाडी, इन्धन र जनशक्तिलाई निजी प्रयोजनमा लगाउने गरेको पाइएको छ । 

व्यक्तिगत काममा लगाउँदा पछिल्लो समय जिसस प्रमुख थापा र कर्मचारीबीच मनमुटाव निकै चुलिएको छ । 

‘प्रमुख थापाले कर्मचारीलाई लुगा धुन लगाउँछन्’

समन्वय समिति प्रमुखले कर्मचारीलाई व्यक्तिगत काममा लगाउने र नमान्नेलाई कारवाही गर्ने भएपछि केही कर्मचारी त्रसित भएका छन् । प्रमुख थापाको व्यवहारबाट त्रसित भएका एक कार्यालय सहयोगीले रोजगारी गुम्ने डरले पनि प्रमुखको व्यक्तिगत काम गर्न बाध्य भएको दुःखेसो पोखेका छन् ।

नाम उल्लेख नगरिदिने शर्तमा उनले भने, ‘कार्यालयको काम त छँदैछ, कार्यालयको जिम्मेवारी त जो कोही राष्ट्रसेवकले निर्वाह गर्नैपर्छ तर मैले त उहाँको (प्रमुख) को लागि खाना पकाउनेदेखि लुगा धुने लगायतको काम गर्दै आएको छु । ठूला कर्मचारी र प्रमुखबीच लफडा छ । उनीहरूको कारण आफू पनि निकालिने डर छ । परिवार पाल्नलाई भएपनि सहेर बसेका छु ।’

जिसस प्रमुख थापाले सरकारी पोशाक लगाउँदा होच्याउने गरेको समेत पाइएको छ । कार्यालय सहयोगी चेतराज भट्टले आफूले पोशाक लगाउँदा प्रमुख थापाले ‘ठाट्टिएर आउने’ भन्दै समितिको बैठकमा होच्याएको बताए । ‘राज्यले दिएको पोशाक नलगाउँदा किन नलगाएको भन्छन्, लगाउँदा मैले तिमीलाई चिनिन, ठट्टिएर बस्ने भन्दै सबैको सामु होच्याउँछन्, मानसिक तनाव सिर्जना गर्छन् ?’ उनले भने ।

जिसस प्रमुखको हेपाहा शैली !

जिसस प्रमुखको कार्यबाट असन्तुष्ट भएका नासु एवं कार्यालयका सूचना अधिकारी वीरराम ताम्राकारले कार्यालयको नियमित काम गर्दागर्दै पनि स्पष्टीकरण सोध्ने र पहुँचकै भरमा विभागीय कारवाहीको लागि मन्त्रालयलाई सिफारिस गरेको आरोप लगाए । पहुँच नभएका कर्मचारीको श्रम शोषण र पेटमा लात हान्ने काम हुँदै आएको उनले गुनासो गरे ।

‘लकडाउनको बेलामा मैले सबै स्थानीय तहसँग समन्वय गरेर सूचना संकलन लगायत कार्य गरेको छु । अहिले नै उपलब्ध गराउन सक्छु । स्थानीय तहसँग बुझ्दा पनि हुन्छ तर काम नगरेको भन्दै मलाई स्पष्टीकरण सोधियो । कारवाहीको लागि सिफारिस गरिएको छ,’ सूचना अधिकारी ताम्राकारले लोकान्तरलाई भने, ‘मेरो उहाँलाई ३ वटा सवाल छन् –आदेशको एकात्मकता भनेको के हो ? पद सोपान भनेको के हो ? कर्मचारी संयन्त्रभित्र पद सोपान नै चेन अफ कमाण्ड हो । समन्वय समितिको काम नीति निर्माण गर्ने हो कि कार्यालय सञ्चालन गर्ने हो ? नीति निर्माण गर्न छोडेर निहीत स्वार्थ पूरा गर्नलाई कर्मचारीको पछि लाग्ने ? मभन्दा सिनियर हाकिम छन्, हाकिम बिरामी भएपछि अर्का निमित्त प्रमुख तोकिएका छन्, कस–कसको चेन अफ कमाण्डमा बसूँ ?’

काम गर्दागर्दै पनि कारवाही भोग्नुपर्ने अवस्था आएको सूचना अधिकारी ताम्राकारको गुनासो छ । जिससका समन्वय अधिकारी वीरबहादुर शाही बिरामी परेपछि निमित्त प्रमुखको जिम्मेवारी शाखा अधिकृत जोशीलाई तोकिएको छ ।

गाडी नचलाउनेलाई चालकको जागिर

जिससभित्र केही कर्मचारीलाई काँखी च्याप्ने काम समेत भएको जनाइएको छ । जिसस प्रमुख थापाले सवारी चलाउन नजान्ने आफू निकटका एक जनालाई चालकको नियुक्ति दिएर तलब खुवाउँदै आएको आरोप लागेको छ ।

सूचना अधिकारी ताम्राकारका अनुसार जिससले प्रकाश खनाल, ताराकुमारी बम र प्रेम नाथलाई हलुका सवारी चालकमा करारमा नियुक्त गरेको छ । बम र नाथलाई २०७६ कात्तिक १ गते नियुक्त गरिएको हो । 

सवारी चालक अनुमतिपत्र भए पनि सवारी चलाउन नसक्ने बमलाई चालकको तलब खुवाउँदै आएको जिससकै कर्मचारीले आरोप लगाउँदै आएका छन् । सूचना अधिकारी ताम्राकारले ठोकुवा गर्दै भने, ‘म यहाँको सूचना अधिकारी हो तर मैलै ताराकुमारी बमलाई हालसम्म गाडी चलाएको देखेको छैन । नियुक्ति गाडी चालकको छ । काम कार्यालय सहयोगीको गर्दै आउनुभएको छ । उहाँलाई आवास सुुविधा पनि दिइएको छ ।’

नियुक्ति कात्तिकमै पाएकी बमलाई कार्यालयका अर्का चालक प्रकाश खनालले केही दिन सिकाए तर सरकारी गाडी ठोकिदिने हुन् कि भन्ने डरले खनालले गाडी सिकाउन छाडेको कार्यालयका कर्मचारी बताउँछन् । बमसँगै नियुक्ति पाएका अर्का चालक प्रेम नाथलाई हाल जिम्मेवारीबाट हटाइएको छ । जिम्मेवारीबाट हटाइएका नाथले तोकिएको सबै काम गर्दा पनि आफूलाई जिम्मेवारीबाट हटाइएको तर जिम्मेवारी अनुसार कामै नगर्नेलाई काँखी च्याप्ने काम भएको दुःखेसो सुनाए । 

लम्की घर भएका प्रमुख थापाले सरकारी गाडी, इन्धन र जनशक्तिलाई आफ्नो निजी जस्तै प्रयोग गरेको कर्मचारीले आरोप लगाएका छन् । सरकारी गाडी प्रायः लम्की र नेपालगञ्ज लैजानमै प्रयोग भएको जनाइएको छ ।

नेपालगञ्जमा प्रमुख थापाको दाना उद्योग रहेको जनाइएको छ । जिसस प्रमुख थापाले उद्योग स्थापनाको क्रममा १५ दिनसम्म आफूलाई नेपालगञ्जमा राखेको सवारी चालक नाथले बताए । ‘म एकसरो कपडामा गाडी हाँकेर नेपालजञ्ज गएको थिए । मैले कपडा चेन्ज गर्नु छ भन्दाखेरी काम गर्ने भए गर, नत्र घर जा, अर्को डाइभर आउँछ भनेर जवाफ पाएँ, बाध्यतावश परिवार पाल्न काम गरियो,’ उनले भने ।

चालकलाई दुःखै–दुःख

सवारी चालक नाथले जिसस प्रमुख थापाकै लागि गाडी हाँकेर काठमाडौं गएको तर मानसिक यातनै यातनापछि फर्किने बेला बसमा फर्केको बताए । उनले घटनाबारे सुनाउँदै लोकान्तरलाई भने, ‘गाडीको इन्जिनमा केही खराबी थियो । गाडी चेन्ज गर्छु भन्नुभएको थियो प्रमुख (थापा) ले । त्यही गाडी हाँकेर पुस अन्तिम हप्ता धनगढीबाट उहाँको घर लम्की, लम्कीबाट उहाँको फ्याक्ट्री नेपालगञ्ज गएँ । उहाँ नेपालगञ्जबाट प्लेनमा काठमाडौं जानुभयो । म चाहिँ उहाँको रासन, लत्ताकपडा लगायत टन्नै सामान लोड गएर काठमाडौंतिर गए । उहाँले आफ्नो रुमाल पनि आफूसँग लग्नुभएन । उहाँले मलाई बिहान ८ बजे कपडा चाहिन्छ भनेर भन्नुभएको थियो । त्यसै अनुसार म नेपालगञ्जबाट हिँडें । चनौटामा एउटा जीपले मान्छे बचाउने क्रममा मैले चलाएको गाडीमा ठोकिदियो । गाडीको च्यादर काटियो । प्रहरीलाई खबर गरे । पछि सामान्य मर्मत गरेर काठमाडौ गएँ ।’

काठमाडौं पुगेपछि आफूमाथि अमानवीय व्यवहार भएको उनले बताए । उनी भन्छन्, ‘खाना र बस्नको व्यवस्था गरिदिनुहुन्छ भनेर ढुक्क थिएँ । काठमाडौं पुग्दा खाना समेत सोधिएन । मसँग पैसा पनि थिएन । खर्च माग्दा उहाँले झपार्नुभयो । जसले गाडी ठोक्यो उसैसँग माग्नु, उतै खानु, उतै बस्नु भन्नुभयो । हप्तादिनसम्म साथीहरूको डेरामा बसे । एटीएमबाट ९ हजार रुपैयाँ झिकेर खर्च गरे । बस चढेर धनगढी फर्के ।’

गाडी बिग्रेकै निहुँमा आफूलाई जिम्मेवारीबाट हटाइएपछि मानसिक तनावमा रहेको दुःखेसो पोख्दै उनले भने, ‘वैशाख र जेठसम्म काम गरेको २ महिनाको तलव अझैसम्म नदिँदा निकै अप्ठ्यारोमा परेको छु ।’

‘गाडी बिग्रेपछि सरसफाइको काम गरे । कोठाको पोछादेखि शौचालयको सफाइसम्म गरे । म त गरीब, पहुँच नभएको ज्याला मजदुरी गरी खाने मान्छे हजुर, मेरो बालबच्चा छन् । २ महिनाको तबल अझै रोकिएको छ । केही भयो भने त्यो पनि जान्छ कि भन्ने पीडामा छु,’ उनले भने ।

कसैलाई व्यक्तिगत काम गराएको छैन : थापा

जिसस प्रमुख थापाले भने कर्मचारीले आफूमाथि लगाएका आरोपहरू निराधार रहेको दाबी गरेका छन् । आफ्नो निजी कार्यमा कसैलाई प्रयोग नगरेको जिकिर गर्दै उनले आफ्नै निजी गाडी र इन्धन प्रयोग गरेर कार्यालयको काम गर्दै आएको दाबी गरे ।

करार अवधि सकिएपछि पनि पुनः थप गरेर जेठसम्म बढाएको उनले बताए तर भएको गाडी बिग्रेपछि सवारी चालक नाथलाई पदमुक्त गरेको प्रमुख थापाले बताए ।

निमित्त प्रमुख जोशी र सूचना अधिकारी ताम्राकारले लकडाउनको अवधि तथा ३ महिनासम्म सम्पर्कमा नआएकाले स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआएपछि कारवाहीको लागि सिफारिस गरिएको उनले दाबी गरे ।

जिसस प्रमुख थापाले भने, ‘राष्ट्रसेवक कर्मचारीले जनता र राष्ट्रको सेवामा लापरवाही गरेपछि कारवाही गरिएको हो । तलब सरकारको खाने, काम नगर्ने हुन्छ ? काम गर्न लगाउँदा म यता छु, उता छु भनेर बहानाबाजी गर्न मिल्छ ?’

इन्धनमा तोकिएकोभन्दा बढी खर्च

जिल्ला समन्वय समितिले जेठसम्ममा इन्धनमा मात्रै ३ लाख ८७ हजार १३४ रुपैयाँ खर्च गरेको छ । जिल्ला समन्वय समितिले १ वर्षमा ३ लाख ६८ हजार रुपैयाँ इन्धन लागि छुट्याएको थियो । ११ महिनाको अवधिमा तोकिएकोभन्दा बढी खर्च गरेको पाइएको छ ।(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)

ताजा अपडेट