सरकारी रकम सोझै श्रीमती र भतिजको खातामा

रुकुमपश्चिम । सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गर्ने एक गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन रहेका छन् ।

बाहिरबाट ताला लगाई अनावश्यकरूपमा कागजात मिलाउँदै गरेको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेर जिल्ला ल्याएको छ । लेखापाल केसीले गत वर्ष २०७६÷७७ को बजेटबाट रु २४ लाख ९२ हजार ३७२ श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेका थिए ।

विभिन्न शीर्षकमा अनाधिकृतरूपमा उनीहरुको खातामा जम्मा भएको उक्त सरकारी रकम उनीहरुले गाउ“पालिकाकै खातामा जम्मा गरेका थिए । उक्त रकमको कागजात मिलाउने क्रममा उनीहरु पक्राउ परेका हुन् । बिना कुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थाहा पाएपछि गाउँकार्यपालिकाले चासो व्यक्त गरेको थियो ।

अहिले जिल्ला प्रशासन कार्यालयले छानबिनसमेत थालेको छ । रातको समयमा काम गरिरहेको खबर आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए। रातको समयमा कार्यालय जानुका कारण खोजी भइरहेको उनले बताए। कार्यालय समय १०–५ हो, तर रातिमा पनि कार्यालयमा आएपछि त्यसको कारण खोजी गरिरहेका छौँ”, उनले भने, “कर्मचारी मात्र नभई परिवारका सदस्यसमेत कार्यालयमा भटिनुले कुनै रहस्य लक्षित गर्छ, अनुसन्धान भइरहेको छ ।”अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र दिउ“सो थप अनुसन्धान गरिने जनाइएको छ ।