स्थायी लेखा नम्वर लिनेहरुको सख्या ४४ लाख नाध्यो

काठमाडौँ- कर प्रक्रियामा सहभागी हुन आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान)मा दर्ता हुनेको सङ्ख्या ४४ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्म ४४ लाख १८ हजार ५५५ करदाता पानमा दर्ता भएका छन् । यस्तो सङ्ख्या असारसम्म ४० लाख ६६ हजार थियो । यस हिसाबले पाँच महिनामै साढे तीन लाख करदाता पानमा थपिएका हुन् ।

यस अवधिमा व्यक्तिगत पानमा दर्ता हुनेको सङ्ख्या २७ लाख नाघेको छ । जब कि असारम्म व्यक्तिगत पान नम्बर लिनेको सङ्ख्या २४ लाख ७५ हजार थियो । रोजगारी गर्ने हरेक व्यक्ति पानमा आबद्ध हुनैपर्ने सरकारी नियमअनुसार पनि व्यक्तिगत पान नम्बर लिनेको सङ्ख्या पछिल्लो समय बढ्दो छ ।

अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म व्यावसायिक पान लिनेको सङ्ख्या १७ लाख चार हजार ४०४ पुगेको छ । गत असारसम्म १५ लाख ८० हजार करदाताले व्यावसायिक पान लिएको तथ्याङ्क छ । त्यस्तै करकट्टी गर्ने निकायमध्ये अहिलेसम्म १२ हजार ९१५ वटा निकायले पान नम्बर लिएका छन् । असारसम्म करिब १० हजार निकायले मात्र पान नम्बर लिएका थिए ।

मूल्य अभिवृद्धि करमा दर्ता हुनेको सङ्ख्या पनि बढिरहेको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाउँछ । मङ्सिरसम्म तीन लाख छ हजार ५७१ करदाता मूल्य अभिवृद्धि करमा दर्ता भएको देखिन्छ । असारसम्म २९ हजार ७१४ करदाता मुअकरमा दर्ता भएका थिए । अन्तःशुल्कमा दर्ता हुने फर्मको सङ्ख्या दुई लाख २३ हजार ४०२ पुगेको छ । असारसम्म एक लाख चार हजार १८२ फर्म मात्र अन्तःशुल्कमा दर्ता भएको देखिन्छ । छोटो समयमै अन्तःशुल्कमा दर्ता हुनेको सङ्ख्या दोब्बरले बढेको तथ्याङ्कले देखाउँछ । राजस्व सङ्कलनका लागि करदाताको पहिचान गर्नुपर्ने र करदातालाई करको दायराभित्र ल्याउन पान महत्त्वपूर्ण हुन्छ ।