सार्वजनिक सम्पत्तिप्रति बेखबर लम्की नगर

टंककला तिमिल्सेना, काठमाडौँ । बर्दिया जिल्लाको सिमा सकिने वित्तिकै सुदुरपश्चिम प्रदेशमा कैलालीको लम्की चुहा नगरपालिकाले स्वागत गर्छ । पूर्वबाट पश्चिमतर्फ आउनेहरुकालागि सुन्दर स्वागत गेट जस्तै हो कर्णाली पुलसँगैको चिसापानी क्षेत्र, जुन लम्की चुहा नगरपालिका वडा नम्बर ३ मा रहेको छ । कर्णाली चिसापानी क्षेत्र मात्र होईन लम्की चुहा नगरमा यस्ता धेरै ठाउँ छन् जसले यस नगरको सुन्दरता र महत्वलाई थप बलियो बनाएका छन् ।

यहाँ नगरको महत्व झल्काउन महत्वपुर्ण भुमिका खेल्ने मठमन्दिरदेखि खुल्ला चौर र खुल्ला चौरदेखि सार्वजनिक जग्गाहरु रहेका छन् । प्राकृतिक सन्तुलन्ता कायम गर्न उल्लेख्य भुमिका खेल्ने खोला, नाला, झरन, कुला थुप्रै छन् यस नगरमा । खेलकुदकालागि राम्रो सम्भावना बोकेको यस नगरभित्र खेलकुदकालागि खुल्ला चौर उल्लेख्य छन् । धार्मिक पर्यटनको सम्भावना बोकेको यस क्षेत्रमा धार्मिक क्षेत्र व्यवस्थापनकालागि थुप्रै सम्भावना छन् । नगरको वैज्ञानिक तवरबाट व्यवस्थापनकालागि आवश्यक थुप्रै सार्वजनिक जग्गा छन् । एकै शब्दमा भन्दा वैज्ञानिक व्यवस्थापनकालागि ठुला सहरहरु काठमाडौ, पोखरामा जस्तो जग्गाको समस्या छैन यस नगरमा ।

तर, लम्की चुहा नगरको स्थिति भने अस्तव्यस्त छ । यहाँका सार्वजनिक जग्गाहरु राजनीतिक र आर्थिक शक्तिको आडमा निजी प्रयोजनकालागि व्यक्तिले कब्जा गरिरहेका छन् । सार्वजनिक जग्गा निश्चित झुण्डले व्यक्तिगत जसैगरी प्रयोगमा ल्याइरहेका छन् । धेरै ठाउँहरु त यस्ता छन् जहाँ लम्की चुहा नगरपालिकाको आँखा नै पुग्न सकेको छैन । बेखबर जस्तै छ नगरपालिका आफ्ना सार्वजनिक सम्पत्तिप्रति । नगरभित्रको सहरी क्षेत्रमा निर्वाद बग्ने खोलाहरु माथि ठुल्ल-ठुला भवन निर्माण भएका छन् । खोला मिचेर बनाइएका भवनले यस्तो भान गराउँछन् की यहाँ त कुनै खोला नै छैन । तर, खोलालाई पैसा र राजनीतिक शक्तिले पर्खाल लगाइदिएको छ जुन सामान्य नागरिकको नजरबाट लुकेको छ । शक्तिको आडमा सहरी क्षेत्रका संरचनामाथि सेटिङ मिलाउने काम यस नगरमा पहिलेदेखि नै चल्दै आएको छ ।

उता, नगरको सहरी क्षेत्रमा शक्तिको आडमा सार्वजनिक जग्गा र प्राकृतिक सम्पत्तिलाई व्यक्तिले कब्जा गरेर मासिइरहेका छन् , यता यस नगरको गाउँ क्षेत्रमा भएका सार्वजनिक जग्गा, चौर आदी संरक्षण र संर्वद्धनको अभावमा मासिदै गएका छन् । नगरपालिकासँग नै आफुसँग कति सार्वजनिक जग्गा छ ? कहाँ के कति र कस्तो अवस्थामा यिनको प्रयोग भैरहेको छ ? भन्ने एकिन विवरण छैन । नत यस प्रति नगरपालिकाले कुनै खास चासो देखाई अभिलेख तयार गर्ने काम गरेको छ ।

नगरभित्र झरनहरुपनि थुप्रै छन् जुन अहिले अतिक्रमणको चपेटामा छन् यस बारे त झनै नगरपालिका उत्तरदायित्वहिन जस्तो देखिएको छ । अतिक्रमणको चपेटामा रहेका पुराना झरनहरुबाट अहिले पानी निकासा हुँदैन यस्ता कतिपय ठाउँमा संरचना बनेका छन् त कति व्यक्तिले कब्जा गरिरहेका छन् । यिनको संरक्षण गरे नगरपालिकालागि भावि दिनमा कुनै निश्चित परियोजना निर्माण गर्न जग्गा अधिग्रहण गर्नु पर्ने अवस्था आउने थिएन ।


चौर व्यवस्थापन गरे नगरलाई वैज्ञानिक व्यवस्थापनकालागि आवश्यक पर्ने खुल्ला क्षेत्र र संरचनाकालागि भोलिका दिनमा सहयोग हुन सक्थ्यो । ठाउँ-ठाउँमा चौतारा, पार्टी पौवा भत्केका छन् । यिनको संरक्षणकालागि पनि नगरपालिकाले खास काम गरेको देखिदैन ।

यसरी पैसा र राजनीतिक शक्तिको आडमा सार्वजनिक सम्पत्ति मासिदै जाने हो भने आगामि दिनमा नगरपालिकाको अस्तित्व नै संकटमा पर्न सक्छ । खोला छोपेर भवन ठड्याइएका छन् । पानी निकासा हुने ठाउँ नै साँघुरिदै जाँदा डुबानको समस्यासँगै प्रकृतिमाथि अन्याय भैरहेको छ । खोला, नालाबाट प्राकृतिक सम्पत्ति दोहन भैरहेको छ । यसमा नगरपालिकाले खास कदम चाल्न सकेको छैन । यसले भोली यस क्षेत्रका जनताले ठुला प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने हुन्छ यस तर्फ नगरपालिकाको ध्यान निकै कमजोर स्तरमा देखिएको छ ।

भर्खरै