महिला बेचविखनको हव वन्दै नेपाल, राजनीतिक शक्तिकै आडमा महिला तस्करी

पछिल्ला वर्षहरुमा नेपाल मानव वेचविखनको हब बन्दै गएको छ । विशेषगरि महिला वेचविखन यहाँ फस्टाएको देखिन्छ । महिलाहरुको सामाजिक, आर्थिक, शैक्षिक, बौद्धिक र राजनैतिक जस्ता पछौटेपनले उनीहरुलाई सजिलै फकाइफुलाई वेचविखन गरेको अध्ययनहरुले देखाएका छन् । दिनानुदिन बढ्दो बेरोजगारी, आर्थिक अभाव र केहि महिलाहरुको महत्वकांक्षी स्वभावले उनीहरु वेचिन पुगेको विभिन्न तथ्याङकहरुले प्रष्ट पारेका छन् ।

महिलाहरु वेचिने विभिन्न माध्यम मध्येको एक वैदेशिक रोजगारी हो । पछिल्ला केहि वर्षहरुमा नेपाल सरकारले महिलालाई वैदेशिक रोजगारमा जान रोक लगाए पनि यसको असर भने नेपाली महिलामा पर्न सकेको छैन् । सरकारको यस कदमबाट महिलाहरु जोखिम मोलेर भारत हुदैँ विदेशिदा वेचिने जोखिम बढेको देखिन्छ ।

नेपाल प्रहरीको आर्थिक वर्ष (२०७४/७५) को प्रतिवेदन अनुसार ७८% महिला र २२% पुरुष नेपालबाट तस्करी गरिएको देखिन्छ । यो तथ्याङक दिनानुदिन बढ्दो क्रममा छ । वर्तमान अवस्थामा चेलिवेटी वेचविखन एक संगठित अपराधको रुपमा मौलाउदैँ गएको छ । अर्कोतर्फ विभिन्न अध्ययनहरुले के पनि देखाएका छन् भने नेपाल चेलिवेटी वेचविखनको केन्द्रको रुपमा विकास भइरहेको छ ।
यो अपराध नेपालमा बढ्दै जानुका विभिन्न कारणहरु छन् । जसमध्ये पहिलो कारण अशिक्षा रहेको छ । वेचिएका मध्ये ८६% व्यक्तिहरु अशिक्षित रहेको पाइएको छ । वेचिनेमा सवैभन्दा बढी जनजाति महिलाहरु (४९%) बाह्मण÷क्षेत्री (२९%), दलित (१५%), मधेसी (६%) रहेका छन् ।

अर्कोतर्फ तस्करी गर्नेहरुमा शिक्षाको (७५%) कमि रहेको पाइएको छ । तस्करीमा पनि नेपालका विभिन्न जातजातिका व्यक्तिहरुको सलंग्नता रहेको पाइएको छ । सवैभन्दा बढी ३९% जनजाती, बाह्मण/क्षेत्री३२%, दलित १५%, मधेसी १३% संलग्न रहेको मानवअधिकार आयोगको प्रतिवेदनले देखाएको छ ।

मानव तस्करी यसरी फस्टाउँदै गर्दा तस्करले विशेषगरी रोजगारी, प्रलोभन, झुठा विवाह, लागु औषध आदीको बाटो अवलम्बन गर्ने गरेका छन् । तथ्याङक अनुसार रोजगारी प्रलोभनका माध्यमबाट त ६५% तस्करी हुने गरेको छ भने अन्य प्रलोभनबाट २३.५% तस्करी हुने गरेको छ । भ्रमण, डर त्रास इत्यादी पनि तस्करीका बाटोहरु हुन् । पछिल्ला वर्षहरुमा शैक्षिक भिसाको प्रलोभन, छात्रवृतिको बहाना, भिजिट भिसाको माध्यमबाट समेत यो अपराध मौलाएको छ ।

यसरी मानव तस्करी विशेषगरी महिला तस्करी फस्टाउँदै गर्दा सरकार र सरोकारवाला निकायहरुले भने महिलाकै नाममा विदेशी डलर पेटमा हाली देखावटी प्रचारवाजी मात्र गरिरहेका छन् । यसो देखाउनलाई केही पहल गरे जस्तो देखाएपनि अपराध रोकथाममा परिणाममुखि नतिजा दिन सरकार र सरोकारवालाले सकेका छैनन् ।

विदेशी संघसंस्थाका नाराहरुमा मानव वेचविखनको कडा विरोध देखिन्छ तर धेरै ठाउँमा नाराको प्रचार गर्नेहरु नै तस्करका मतियार बनेका हुन्छन् । यति मात्र होईन राजनीतिक शक्तिकै आडमा महिला तस्करीको गिरोह चलिरहेको छ नेपालमा । विभिन्न स्रोतले राजनीतिक शक्ति केन्द्रमा रहेका कै आडमा तस्करी हुने गरेको खुलाएपनि यसलाई पैसा र शक्ति कै आडमा सतहमा आउनबाट रोकिन्छ । विश्लेषकहरुका अनुसार राजनीतिक शक्तिको आड नभई तस्करी लामो समय चलाउन र गिरोहको जालो विछ्याउन सम्भव हुँदैन ।

समय समय सतहमा आउने केही उदाहरणहरुले पनि विश्लेषकहरुको यो तर्कलाई पुष्टि गर्छ । पैसा र राजनीतिको शक्ति मिलनले महिला वेचविखन झन् फष्टाउँदै गएका छ । यसलाई तोड्ने जवसम्म नेपाली महिलाहरु स्वयम नै चेतनशिल, जागरुक र शिक्षित हुदैँनन् तवसम्म सम्भव कम छ ।

त्यसैले जसरी विश्वभरी महिलाले आफ्ना हक र अधिकारका लागी विभिन्न काल खण्डमा आवाज बुलन्द पारेर मागहरुको पुर्ति गराए त्यसरी नै नेपालमा पनि महिलाले महिला वेचविखन विरुद्धको नारा सहित एक एजेण्डा बनाएर परिणममुखि नतिजा खोजी गर्दै आवाज बुलन्द बनाउन आवश्यक देखिन्छ ।