रौतहट प्रकरण : प्रारम्भिक रिपोर्ट भन्छ- प्रहरीको कुटपिटबाटै मृत्यु

काठमाडौँ । रौतहटमा प्रहरी हिरासतमा रहँदा एक युवकको मृत्यु भएको घटनाका सम्बन्धमा प्रारम्भिक रिपोर्ट हेर्दा प्रहरी नै दोषी रहेको पाइएको छ। रौतहटको गरुडा प्रहरीको थुनुवा कक्षमा रहेका अवस्थामा १९ वर्षीय विजय रामको कुटपिटबाट मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। विजयको शवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरिएको हो।

पोस्टमार्टममा सामेल चिकित्सक डा हरिहर वस्तीले विजयको मृत्युको कारणमा ढाड, कोखा लगायत शरीरका विभिन्न भागमा भएको कुटपिटले गर्दा मिर्गौलामा रगत जमेको र मिर्गौला फेल भएर मृत्यु भएको उल्लेख गरेका छन्। डा वस्तीका अनुसार विस्तृत रिपोर्ट भने आउन बाँकी छ।

भदौ ११ गते विहीबार नेशनल मेडिकल कलेज वीरगञ्जमा विजयको मृत्यु भएको थियो। त्यहाँ भदौ १० गते विजयको दुवै मिर्गौलाको डायलासिस पनि गरिएको थियो। डायलासिसपछि अवस्था झनै विग्रिएका विजयको भोलिपल्टै मृत्यु भएको थियो।

प्रहरीले परिवारका सदस्यहरुलाई थाहै नदिइ भदौ चार गते विजयलाई उपचारार्थ त्यहाँ लगेको थियो। गम्भीर अवस्थामा रहेका विजयको अवस्थामा सुधार नआएपछि बल्ल परिवारका सदस्यहरुलाई खबर गरिएको थियो। परिवारका सदस्यहरुलाई लामो समय विजयलाई हेर्न दिइएको थिएन। पछि प्रदर्शन नै गरेपछि मात्र हेर्न दिइएको विजयका आफन्त मनोज रामले जानकारी दिए।

विजयको शव परिवारले बुझ्न मानेको छैन। आफन्त मनोजका अनुसार इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ९डीएसपी० ज्ञानकुमार महतोसहितको प्रहरी टोलीलाई कारबाहीको दायरमा नल्याए शव नबुझ्ने अडान लिएका छन्।

“हिरासतमा लिएपछि जो कोहीलाई प्रहरीले कुटपिट गर्न र यातना दिन पाइँदैन, मानव अधिकारको प्रहरीले रक्षा गर्नुपर्छ,” उनले सञ्चार माध्यमलाई भने, “तर, विजयमाथि हिरासतमा सख्त कुटपिट र चरम यातना दिइएको छ, कुटपिट र यातना दिने डीएसपी ज्ञानकुमार महतोसहित प्रहरीलाई कारबाही नगरिएसम्म शव बुझ्दैनौं।”

विजय भदौ १ गते स्थानीय निरञ्जन रामको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका थिए। उनीसँगै अन्य १० जना पनि पक्राउ परेका थिए। कसूर प्रमाणित नहुने भन्दै चार जनालाई भने गरुडा प्रहरीले साधारण तारेखमा छाडेको छ। विजयसहित ७ जनालाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको थियो।

रौतहट प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ९डीएसपी० भरत श्रेष्ठले हिरासतमा रहँदा विजयलाई पेट दुखेको, पखाला लागेको र पिसाबमा पनि समस्या देखिएपछि अस्पताल लगेको र उपचारका क्रममा मृत्यु भएको बताएका छन्।

तर, आफन्त मनोजले भने विजयलाई निरन्जन हत्याको जिम्मा लिन प्रहरीले दबाब दिएको र अस्वीकार गर्दा यातना दिएको दाबी गरेका छन्।