दुई सय प्याकेट सुर्तीसहित बोलेरो जिप बरामद

काठमाडौँ । प्रहरीले कैलालीमा बेवारिसे अवस्थामा रहेको भन्सार छलीका सुपरपावर सुर्तीसहित बोलेरो जिप बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैधरूपमा भन्सार छली ल्याइएका अन्दाजी रु दुई लाख ३० हजार बराबरको २०० प्याकेट सुपरपावर सुर्तीसहित से १ च २८९ नम्बरको सेतो रङको पिकअप बोलेरो जिप बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

बरामद सुर्तीसहित बोलेरो जिप आवश्यक कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर पठाइएको बताइएको छ । त्यसैगरी प्रहरीको सोही टोलीले धनगढी–२ कृष्णनगर टोलबाट भन्सार छली ल्याइएका पाँच बोरा जिरा र ७०० प्याकेट सुपरपावर सुर्तीसमेत बरामद गरी आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको जनाइएको छ।