औषधी व्यवस्था विभागको अनुगमनपछि औषधी पसल वन्द

काठमाडौं । औषधी व्यवस्था विभागले अनुगमनलाई तीव्र बनाएपछि औषधी पसलहरु बन्द हुन थालेका छन् । औषधी पसलहरुमा गैरकानूनी रुपले खाद्य पुरक सामग्री विक्री वितरण गर्न थालेपछि विभागले अनुगमनलाई तीव्र बनाएको थियो ।

विभागले अनुगमनका क्रममा खाद्य पुरक सामग्रीलाई औषधी जसरी विक्री गरेको पाएपछि त्यस्ता खुद्रा व्यवसायी तथा औषधी पसलहरुलाई कार्वाही गर्ने प्रक्रिया अगाडि बढाएको थियो । विभागले औषधी ऐन २०४९ अनुरुप खाद्य पुरक सामग्रीलाई औषधी जस्तै बेच्नु गलत भएको भन्दै कार्वाही गर्ने तयारी गरेकै कारण औषधी खुद्रा पसलहरु वन्द गरिन थालिएको छ ।

अहिले खाद्य पुरक सामग्रीलाई औषधी जस्तैगरी आयात गर्ने र खुद्रा व्यापार गर्नेहरुलाई समेत विभागले आफ्नो निशाना बनाएको छ । तर, आयात कर्ता, खुद्रा व्यापारीले भने विभागलाई टेर्ने अवस्थमा देखिँदैनन् ।

औषधी व्यवस्था विभाग खाद्य पुरक सामग्री भित्र्याउनेलाई कार्वाही गर्न खोजिरहेको छ भने अर्को सरकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भने कार्यविधि देखाएर आयातका लागि सिफारिस गरिरहेको देखिन्छ ।

स्वदेशमा नै उत्पादन गर्न सकिने खाद्य पुरक सामग्रीलाई आयात गर्न लगाएर करोडौं रुपैयाँ घोटाला भईरहेको पनि देखिन्छ । नेपालमा चिकित्सकहरुले खाद्य पुरकका नाममा विरामीलाई औषधी जस्तै गरि लेखिदिने भएकाले पनि समस्या भएको विज्ञहरुको भनाई छ । चिकित्सकहरुले औषधीका रुपमा लेख्ने गरेको खाद्य पुरक सामग्रीहरु कोदो, मकै , अण्डा, हरिया सागसब्जी, माछामासु वा दुध दही तथा घिउ जस्ता खाद्य बस्तुबाट नै पाइने गर्दछ ।

तर कमिशनका कारण दुईसरकारी निकायहरुको समन्वय हुन नसक्दा आयातकर्ताहरुले नै गलत बस्तु नेपालमा भित्र्याएर विक्री गरिरहेका छन् । सवै भन्दा अचम्म लाग्ने कुरा के छ भने नेपालमा त्यही खाद्य पुरक सामग्री उत्पादन गर्न नमिल्ने तर बाहिरबाट भने आयात गरी विक्री वितरण गर्न मिल्ने ।
विशेष गरी खाद्य पुरक सामग्री आयातकर्ता र ठूला औषधी व्यापारीहरुकै मिलेमतोमा खाद्य पुरक सामग्री भित्रिरहेको देखिन्छ ।