शेयर जारी गर्न संस्थागत लगानीकर्तासँग आवेदन माग

काठमाडौँ । बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न संस्थागत लगानीकर्तासँग नेपाल धितोपत्र बोडले आवेदन मागेको छ । बोर्डले बुक बिल्डिङ निर्देशिका २०७७ बमोजिम योग्यता पुगेका इच्छुक संस्थागत लगानीकर्तालाई आवेदन दिनका लागि आह्वान गरेको हो ।

बुक बिल्डिङ विधिमार्फत जारी गरिने साधारण सेयर खरिद प्रक्रियामा भाग लिनका लागि योग्य संस्थागत लगानीकर्तालाई भनिएको हो । आवेदन बोर्डबाट स्वीकृत भएपछि मात्रै बुक बिल्डिङ विधिमार्फत निष्कासित हुने आइपीओमा संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

नेपालमा पहिलोपटक बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने तयारी हुँदैछ । बोर्डले सूचीकृत संगठित संस्था, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना, मर्चेन्ट बैंकर, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र व्यापारी र नेटवर्थ न्यूनतम १० करोड भएका र धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित लगानी कम्पनीले लगायतले आवेदन दिन सक्ने जनाएको छ ।