दुर्गम क्षेत्र उडानका लागि जहाज खरिद गर्न मन्त्रीको निर्देशन

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्र उडानका लागि हवाई जहाज खरिद प्रक्रिया अघि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन्।

बुधबार मन्त्रालयमा निगमका कार्यकारी अध्यक्ष र विभागिय प्रमुखसँगको बैठकमा मन्त्री भट्टराईले दुर्गमका जनताको सेवाका लागि जहाज खरिद गर्नुपर्ने भन्दै योजना अघि बढाउन निर्देशन दिएका हुन्।

उनले भने, ‘आन्तरिकतर्फ भएका दुई वटा मात्र ट्वीनअटर जहाजले दुर्गम क्षेत्रमा सेवा प्रदान गर्न सक्दैन। त्यसैले तत्काल खरिदको योजना अघि बढाउनुपर्छ।’

भट्टराईले नेपाल एयरलाइन्सलाई पब्लिक मोडलमा लैजानको लागि नागरिक लगानी कोष, सञ्चय कोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी खाका बनाउन पनि निर्देशन दिएका छन्। मन्त्री भट्टराईले निगम ठूलो घाटामा भएकोले देशभर रहेको अचल सम्पत्ति व्यवसायीक रुपमा उपयोग गर्न पनि आग्रह गरेका छन्।

उनले निगमलाई आर्थिक रुपमा उकास्नको लागि खर्च कटौती तथा मितव्यययिता अपनाउन, विदेशमा रहेका कर्मचारी कटौती गर्न र बैठक भत्ता घटाउन पनि निर्देशन दिएका छन्।

त्यस्तै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्नसमेत आग्रह गरेका छन्।