कोरोना : भारतमा चौथो दिन पनि ९० हजारभन्दा बढी संक्रमित थपिए

काठमाडौँ । भारतमा लगातार चौथो दिन कोरोना भाइरस (कोभिड(१९) का ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९४ हजार ३७२ नयाँ संक्रमित थपिएका हुन् । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४७ लाख ५४ हजार ३५७ पुगेको छ । त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७८ हजार ५८६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार ११४ जनाको मृत्यु भएको हो । यसैबीच, भारतमा हालसम्म भारतमा ३७ लाख दुई हजार ५९६ संक्रमित निको ९डिस्चार्ज० भइसकेका छन् । निको हुन बाँकी संक्रमितको संख्या नौ लाख ७३ हजार १७५ छ । अमेरिकापछि भारत विश्वको सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएको मुलुक हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको कारण ६४ लाख ८६ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । मृत्यु हुनेको संख्यामा भने भारत अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । अमेरिकामा अहिलेसम्म एक लाख ९३ हजारभन्दा धेरैको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ भने ब्राजिलमा एक लाख ३१ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।