हवाई टिकट बुकिङ असोज १ गतेबाट खुल्दै

काठमाडौँ । वायुसेवा कम्पनी बुकिङ खुलाउने तयारीमा जुटेका छन् । सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै उनीहरुले यस्तो तयारी गरेका हुन् । त्यसअगाडि कम्पनीहरु कुन कुन गन्तब्यमा उडान गर्न पाइने र कुनमा नपाइने भन्ने विस्तृत निर्देशनको तयारीमा छन् ।

तर, सरकारले अहिलेसम्म उडान खुला हुने गन्तब्यको सूची दिइसकेको छैन । सरकारले गन्तब्य सूची दिए पश्चात त्यसका आधारमा वायुसेवा कम्पनीलाई परमिट दिने तयारीमा
नेपाल नागरिक उड्डयन प्राधिकरण छ ।

पहिलो चरणमा सबै गन्तब्यमा शतप्रतिशत उडान भने नखुल्ने प्राधिकरणले जनाएको छ ।
यसअघि १ भदौबाटै उडान खोल्ने निर्णय सरकारले गरेको थियो । सोअनुसार पनि प्राधिकरणले पहिलो चरणमा साविकमा हुँदै आएको उडानको ३३ प्रतिशत मात्र अनुमति दिने गरी वायुसेवा कम्पनीलाई उडानको अनुमति दिएको थियो ।

तर, कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौँ उपत्यकासहित शहरहरुमा निषेधाज्ञा लागू भयो । त्यसपछि उडान समेत पर सरेको हो । पछिल्लो समय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५ असोजबाट आन्तरिक उडान खोल्ने निर्णय लिएको हो ।

उता, कम्पनीहरु भने १ असोजबाट बुकिङ खुलाउने तयारीमा छन् । एक वायुसेवा सञ्चालकका अनुसार सरकारले त्यो दिनसम्म गन्तब्य नतोके सबै गन्तब्यका लागि टिकट बुकिङ खुल्नेछ ।

किनकी लामो दूरीको यातायातका साधन देशव्यापी खोल्ने निर्णय गरेपछि जहाज समेत सबै गन्तब्यमा उड्ने उनको तर्क छ ।

‘जब सार्वजनिक काठमाडौँबाट तराई जान र तराईबाट काठमाडौँ आउन पाउँछ भने हवाई उडान रोक्नुको औचित्य हुँदैन,’ उनले भने । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिलो चरणमा तराईभन्दा पहाडी र हिमाली भेगका विमानस्थलबाट उडान थाल्ने योजना रहेको बताएका थिए ।

नेपालमा १० चैत, रातको १२ बजेयता सार्वजनिक यातायात र आन्तरिक हवाई यातायात बन्द छन् । सोही दिनबाट बन्द भएको अन्तर्राष्ट्रिय उडान भने १६ भदौबाट सिमित गन्तब्यका लागि खुला भइसकेको छ ।

अब सुरु हुने उडानमा भने स्वास्थ्य मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेका स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरेपछि जहाज चढ्न पाइन्छ । यसमा ज्वरोसहित कोरोनाको लक्षण भएका बिरामीले जहाज चढ्न पाउने छैनन् ।

सबै यात्रुलाई ज्वरो नाप लिएर मात्र जहाजमा जाने अनुमति हुनेछ । सबै यात्रुले जहाज चढ्नु अगाडी अब आफ्नो परिचय र यात्रा विवरण खुल्ने फारम भर्नुपर्छ । यात्राका दौरान मास्क अनिवार्य गरिएको छ ।