भोलिदेखि लामो दूरीको सार्वजनिक यातायात र आन्तरिक उडान खुल्ने

काठमाडौँ । सरकारले लामो दूरीको सार्वजनिक यातायात यही असोज १ गतेदेखि खुला गर्ने निर्णय गर्दै त्यसका लागि निश्चित मापदण्डहरु तोकेको छ।

सरकारले गरेका निर्णयहरुको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर यातायात सुचारु गर्ने निर्णय गरेको जानकारी दिए। मापदण्ड कडाइका साथ लागू गर्ने र त्यसको अनुगमन गरिने उनले बताए ।

बसमा खचाखच यात्रु चढ्न पाउने छैनन्। सिट संख्याको आधामात्र चढ्न पाउने गरी मापदण्ड तय गरिएको छ। चालक, सहचालक तथा सबै यात्रुले मास्क लगाउनुपर्ने, बसमा स्यानिटाइजर राख्नुपर्ने, नियमित रुपमा निःसंक्रमण गर्नु पर्नेछ।

आन्तरिक हवाई उडान पनि असोज १ गतेदेखि नै खुला गर्ने निर्णय सरकारले गरेको छ। हवाई उडानमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ लागू गरिनेछ।

हवाई भाडा पनि बढ्ने संकेत प्रवक्ता ज्ञवालीले गरेका छन्। गन्तव्य र भाडादर पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोक्ने उनले बताए ।

त्यस्तै अन्तर्राष्ट्रिय हवाई उडान पनि स्वास्थ्य र सुरक्षाको पूर्ण मापदण्ड पालनाका साथै आवश्यककता र औचित्य हेरेर सम्बन्धित मन्त्रालयले नियमित तथा चार्टर उडानको सुचारु गराउन सक्ने पनि उनले जानकारी दिए।

सरकारले हिमाल आरोहण र पदयात्रा गर्नेले बढीमा ७२ घण्टाको पीसीआर रिपोर्टसहित असोज १७ गतेदेखि आरोहण र यात्रामा जान सक्ने जानकारी दिए।

त्यस्तै तोकिएको मापदण्ड अनुसार होटेल र ट्राभल ब्यवसाय पनि सुचारु हुने भएका छन्।

नेपालमा सञ्चालित विभिन्न आयोजनामा काम गर्ने विदेश जनशक्तिलाई विदेशबाट ल्याउन पाइने भएको छ। तर यसरी विदेशबाट आउनेहरुले कम्तिमा ७२ घण्टाभित्रकै पीसीआर परीक्षण रिपोर्ट प्रस्तुत गर्नुपर्ने छ भने नेपाल आइपुगेपछि दुई साता अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ।

विद्यालय, कलेजहरुमा भने हाल खुल्ने छैनन।

ताजा अपडेट