सिन्धुपाल्चोकमा प्राकृतिक विपत्ति :६ वर्षमा ३ हजार ७८६ जनाको मृत्यु

काठमाडौँ । २७ भदौंमा सिन्धुपाल्चोकको बाह्विसे नगरपालिका–७ घुम्थाङको भीरकोट, नेवारटोल र नागपुजेमा भीषण पहिरो गयो।

पहिरोमा पुरिएर ३१ जना बेपत्ता भए। ती मध्ये अहिलेसम्म १५ जनाको शव भेटिएको छ। १६ जना अझै बेपत्ता छन्। उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित स्थानीयले खोजी कार्य जारी राखेका छन्।

भीरखर्कका ६, नाकपुजेका ११ र नेवार टोलका १३ गरी ३० घर पूर्ण क्षति भएको छ। १७ घर उच्च जोखिममा रहेका छन्।

३० साउनमै सिन्धुपाल्चोककै जुगल गाउँपालिका २ गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरिए। पहिरोले पुरिएर बेपत्ता भएका ३९ जना मध्ये ३७ जनाको शव भेटियो।

२ जना बेपत्ता भए। उनीहरुको अहिलेसम्म पनि शव फेला परेको छैन। सो पहिरोले १३ घर पूर्ण रुपमा पुरिएर क्षति भए भने २४ घर बस्न नमिल्ने गरी क्षति भए।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार १८ साउनमैै मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ८ जना मजदुरको मृत्यु भयो। सोही दिन बरुवा स्वास्थ्यचौकी सँगै जोडिएको घर पहिरोले बगाउँदा २ जनाको मृत्यु भएको थियो।

२०७७ यता मात्रै सिन्धुपाल्चोकको ठाउँ ठाउँमा बाढी र पहिरोका घटना भएका छन्। ती घटनामा अहिलेसम्म ७० जनाको मृत्यु भइसकेको छ। भने ३८ जना बेपत्ता छन्।

यसवर्षको शुरुवातमा २४ असारमा बाह्रविसे नगरपालिका– ५ को जम्बु बजारमा माथिबाट आएको पहिरोले बस्ती पुरै पुरिएर २ जनाको मृत्यु भएको थियो। पुरिएका १७ जना वेपत्ता छन्।

भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोमा परि १ जनाको मृत्यु भएको थियो भने ३ जना बेपत्ता छन्। १७ साउन २०७१ मा सिन्धुपाल्चोकमा सबैभन्दा ठूलो पहिरो गएको थियो।

राम्चेमा भीषण पहिरो खस्दा १४५ जनाको मृत्यु भएको थियो। पहिरोले भोटेकोशी नदि २४ घण्टा थुनिएको थियो।

हरेक वर्षजसो सिन्धुपाल्चोकमा ठूला प्राकृतिक विपत्ति हुने गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार २०७१ साल यताका ठूला प्राकृतिक विपत्तिमा ३ हजार ७८६ जनाको मृत्यु भइसकेको छ। १ हजार ५६५ जना घाईते छन्। भने विभिन्न विपत्तिमा परेर ४६ जना बेपत्ता छन्।

सबैभन्दा ठूलो विपत्ति १२ बैशाख २०७२ मा विनाशकारी भूकम्पले ल्याएको थियो। भूकम्पमा परेर ३ हजार ५ सय ७१ जनाको मृत्यु भएको थियो भने १ हजार ५ सय ६५ जना घाइते र ८ जना बेपत्ता भएका थिए।

सो भूकम्पका कारण ७८ हजार ५ सय ३७ घर पूर्ण रुपमा क्षति भए भने विद्यालय र सरकारी भवन समेत क्षतिग्रस्त बनेका थिए।

आज भदौ ३१ गते बुधबार पुनः ६ रेक्टर स्केलको भूकम्प सिन्धुपाल्चोलाई नै केन्द्रबिन्दू बनाएर गएको छ । जसका कारण पहिरोको जोखिम थप उच्च भएको विज्ञहरुले बताएका छन् ।