कुलमानको पुन:नियुक्ति माग गर्दै सडकमा उत्रिए युवा

काठमाडौँ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नु पर्ने माग गर्दै काठमाडौंका सडकमा सर्वसाधरणले प्रदर्शन गरेका छन् ।

काठमाडौँको नयाँ बसपार्कस्थित माछापोखरीमा सर्वसाधरण युवाहरुले स्वस्फूर्त रुपमा शान्तिपुर्ण प्रदर्शन गरेका हुन् ।

सडकमा उत्रिएर प्रदर्शन गरेका युवाहरुले देशको अन्धकार हटाउने ब्यक्तिलाई फालेर अन्य ब्यक्ति नियुक्त गर्न लागिएको भन्दै आक्रोश पोखेका छन् ।

उनीहरुले हाम्रोलाई हैन राम्रोलाई नियुक्ति गर।’ ‘उज्यालो नेपालको नायक कुलमान घिसिङलाई पुनर्नियुक्ति गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

दैनिक १८ घण्टाको लोडसेडिङ घटाएको, पुराना र रुग्ण आयोजना सम्पन्न गर्दै लगेको, घाटामा रहेको प्राधिकरणलाई चार वर्षमै ११ अर्ब रुपैयाँ नाफामा लगेको लगायतका सफलताका कारण सर्वसाधारणले प्राधिकरणमा फेरि पनि घिसिङलाई नै दोहोर्‍याउन माग गरेका छन् ।

आफ्नो चारवर्षे कार्यकाल पुरा गरेर घिसिङ आइतबार बिदा भएका थिए । उनको बिदाइ भने मंगलबार मात्रै गरिएको थियो ।

उनलाई पुनः नियुक्त गर्ने विषयमा प्रधानमन्त्री ओलीले अनिच्छा देखाएका छन् भने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः नियुक्त गर्न आग्रह गर्दै आएका छन् ।