लक डाउन सकिएसँगै सात सयभन्दा बढी सवारीसाधन काठमाडौँबाट बाहिरिए

काठमाडौँ । सरकारले लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेसँगै उपत्यका लगायतका क्षेत्रमा चहलपहल बढेको छ।

उपत्यकाका नाकाहरुमा प्रवेश गर्ने र बाहिरिने क्रम बढेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहानैदेखि चहल पहल बढेको जनाएको छ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले ११ चैतदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन बन्द गरेको थियो। करिब ६ महिनादेखि पार्किङमा थन्किएका सवारी साधनहरु सञ्चालन हुन थालेका हुन्।

उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा बिहानैदेखि सवारी साधन काठमाडौं प्रवेश गर्ने र बाहिरिन थालेका छन्। त्यस्तै भक्तपुरका नाकाहरु भएर पनि उपत्यका प्रवेश गर्ने र बाहिरिने क्रम बढेको छ।

आजदेखि सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुले ५० प्रतिशतमात्रै यात्रुहरु राख्नुपर्ने छ। सरकारले नै व्यवसायीहरुलाई ५० प्रतिशत बढी भाडा लिन पाउने निर्णय गरिसकेको छ।

‘सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएसँगै बिहानैदेखि चहलपहल बढेको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने, ‘हामीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना भए–नभएको अनुगमन पनि गरिरहेका छौं।’

सवारी साधनहरुले सामाजिक दूरी कायम गरे–नगरेको, चालक, सहचालक र यात्रुहरुले मास्क लगायतका सुरक्षा सामग्री प्रयोग गरे–नगरेको ट्राफिक प्रहरीले अनुगमन गरिरहेको छ।

त्यस्तै सुरक्षाकर्मीहरुले यात्रुहरु राख्नुपूर्व डिसइन्फेक्सन गरे–नगरेको पनि निरीक्षण गर्ने काम गरिरहेका छन्। ट्राफिक प्रहरी महाशाखाका अनुसार दिउँसो १२ बजेसम्म उपत्यकाबाट ७०१ वटा सवारीसाधन बाहिरिएका छन् भने ५८७ सवारीसाधन भित्रिएका छन्। साँझसम्म थप चहल पहल बढ्ने प्रहरीले जनाएको छ।

महाशाखाले उपलब्ध गराएको जानकारी अनुसार अहिले १२ बजेसम्म एक हजार ४९९ मानिस भित्रिएका छन् भने एक हजार ८३२ जना बाहिरिएका छन्। उपत्यकाको नागढुङ्गा, भक्तपुरको मुड्खु र फर्पिङबाट सवारी साधन आवागमन भइरहेको छ।

‘चाडपर्वको समय नजिक आइरहेकाले यो बेला उपत्यका भित्रिने भन्दा पनि बाहिरिने संख्या धेरै हुन सक्छ,’ महाशाखाका एसएसपी ढकालले भने,‘तर, पनि उपत्यकामा सवारी चाप बढेमा त्यसै अनुसार ट्राफिक व्यवस्थापनका लागि सुरक्षा रणनीति बनाइसकिएको छ।’ लकडाउनका कारणले उपत्यका बाहिरका धेरै जसो विद्यार्थीहरु पहिले नै घर फर्किसकेका छन्।