संविधान दिवसमा प्रचण्डको आयो यस्तो भिडियो सन्देश

काठमाडौँ । पाँचौँ संविधान दिवस आज (शनिबार) मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । संविधान दिवसको अवसरमा सरकारलगायत देशका विशिष्ट व्यक्तिले शुभकामना दिइरहेका छन् ।

यसै क्रममा संविधान दिवसको शुभकामना दिँदै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई विश्वास गरी बहुमत प्रदान गरेकामा नेपाली नागरिकप्रति आभार प्रकट गरेका छन् ।

बिहान ११ मिनेट लामो भिडियोमार्फत शुभकामना दिँदै अध्यक्ष प्रचण्डले तत्कालीन कम्युनिस्टका दुई ठूला घटक (एमाले–माओवादी) को एकतालाई नेपाली जनताले सहर्ष स्वीकार गर्दै निर्वाचनमा दुई तिहाइ बहुमत दिएकोप्रति आफू ‘नतमस्तक’ रहेको बताएका छन् ।