दादुरा रुबेलाका बिरामी भेटिए

काठमाडौँ । जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेला देखा परेको छ । पाटन र दशरथचन्द नगरपालिकामा सो रोगका बिरामी देखिएका स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । उनका अनुसार दशरथचन्द–२ का २ वर्षीय बालकमा रुबेला, पाटन–४ का ४ वर्षीय बालक र दशरथचन्द नगरपालिका ६ की १८ वर्षीया किशोरीमा दादुरा देखिएको छ । दादुरा रुबेला देखिएका दुवै ठाउँमा स्वास्थ्यकर्मीले उच्च सतर्कता साथ उपचार गरिरहेको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए ।

उनले भने, ‘दादुरा रुबेला देखिएका ठाउँका अन्य बालबालिकामा पनि यस्तो लक्षण देखिए÷ नदेखिएका बारेमा स्वास्थ्यकर्मीले अध्ययन गरिरहेका छन् । दादुरा रुबेलाको सङ्क्रमण देखिएका तीनैजनाले यसअघि खोप भने लगाएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लगाएर पनि दादुरा रुबेला सङ्क्रमण देखिएकाले यसको विषयमा अध्ययन भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘के कति कारणले उक्त रोगको सङ्क्रमण देखियो अध्ययनकै क्रममा छौँ, अहिले नै कसरी भयो भनेर भन्न सकिने अवस्था छैन । अहिले जिल्लामा तीन जनामा मात्रै दादुरा रुबेलाको सङ्क्रमण देखिएकाले आत्तिहाल्नुपर्ने अवस्था नआएको तर सतर्क रहनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

बालबालिकालाई दादुरा रुबेला रोगबाट बचाउन लागि शिशु जन्मेको नौ महिनामा पहिलोपटक र १५ महिनामा दोस्रोपटक दादुरा रुबेला खोप लगाउने गरिन्छ । दादुरा भएमा शरीरमा बिमिरा आउने, उच्च ज्वरो आउने, नाकबाट सिँङ्गान बग्ने, खोकी लाग्ने लगायतका लक्षण देखापर्ने गरेका छन् । स्वास्थ्यकर्मीका अनुसार दादुरा रोगको पहिलो लक्षण उच्च ज्वरो आउनु हो । सङ्क्रमित व्यक्तिको सम्पर्क भएको १०–१२ दिनपछि ज्वरो आउँछ । यस समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने वा आँसु बग्ने र रोगीको गालाको भित्री भागमा मसिना सेतो दाग देखा पर्छ ।

यससँगै केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा केही उठेका बिमिरा देखापर्छन् । ती बिमिरा करीब तीन दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन् । यी बिमिरा ५(६ दिनसम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन् । सामान्यतया उक्त रोगको जीवाणु शरीरमा प्रवेश गरेको सातदेखि १८ दिनभित्रमा लक्षण देखिन थाल्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

ताजा अपडेट