यस्तो छ बुद्ध र यती एयरलाइन्सको आकर्षक भ्रमण प्याकेज

काठमाडौँ । आन्तरिक उडान सुरु भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ।

सात महिनापछि ५ असोजदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षित गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन्।

होटल, ट्राभल, ट्रेकिङलगायत पर्यटकीय संस्थासँगको साझेदारीमा एयरलाइन्सले विभिन्न पर्यटकीय गन्तव्यको भ्रमणका लागि सस्तो प्याकेज धमाधम सार्वजनिक गरेका हुन्।

बुद्ध एयरले एक महिनाअघि नै आकर्षक पर्यटकीय प्याकेज सार्वजनिक गरेको थियो। यती एयरलाइन्सले २२औँ वार्षिकोत्सवको अवसर पारेर सोमबार भ्रमण प्याकेज घोषणा गर्‍यो।

बुद्ध एयरले पोखरा र चितवन प्याकेज ल्याएकोे छ। दुई दिन तीन रातको प्याकेजमा पोखरा पाँच हजार ९९९ र चितवनका लागि सात हजार ९९९ रुपैयाँ तोकिएको छ।

यसमा दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाइ, ब्रेकफास्ट, पोखरा विमानस्थलबाट होटलसम्म गाडी सुविधा समावेश गरिएको छ।

यसैगरी चितवनमा पनि दुईतर्फी हवाई टिकट, तीनतारे होटलको बसाइ, ब्रेकफास्ट, चितवन विमानस्थलबाट सौरहा होटलसम्म सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।

यती एयरलाइन्सले अक्टोबर महिनाबाट लागू हुने गरीे पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, चितवन र रारालाई लक्षित गरी प्याकेज ल्याएको छ।

कम्पनीले नेपालगन्ज, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर र तुम्लिङटारका लागिसमेत दुईतर्फी टिकट सहितका प्याकेज ल्याएको छ। यी गन्तव्यमा होटलको स्तरअनुसार मूल्य राखिएको छ।

पाँच दिनको एभरेष्ट ट्रेलको लागि १३ हजार ९९९, दुई रातको लागि रारा २४ हजार ९९९ र पोखरा पाँच हजार ९९९ मा प्याकेज घोषणा गरिएको छ।

त्यसैगरी १२ हजार ९९९ र १६ हजार ९९९ मा चितवन, १२ हजार ९९९ मा मुक्तिनाथ र ११ हजार ९९९ मा अन्नपूर्ण ट्रेल घान्द्रुकमा चार रातको लागि प्याकेज सार्वजनिक गरिएको छ।