ब्रोकरमार्फत पनि ७० प्रतिशत सम्म मार्जिन कर्जा पाइने

काठमाडौँ । सेयर बजारका लगानीकर्ताले अब ब्रोकरमार्फत पनि ७० प्रतिशत सम्म मार्जिन कर्जा पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिमा संशोधन गर्दै यस्तो व्यवस्था गर्न नेप्सेलाई निर्देशन दिएको हो । तथापि, नेप्सेले बोर्डको निर्देशन अनुसार कार्यविधि संशोधन गरेर कार्यान्वयनमा भने ल्याइसकेको छैन । मार्जिन कारोबार गर्दा ब्रोकरबाट लिन पाउने कर्जाको सीमा ५० प्रतिशत बाट बढाएर ७० प्रतिशत पुयाउन नेप्सेलाई निर्देशन दिइएको धितोपत्र बोर्डका सहायक प्रवक्ता रुपेश केसीले बताए ।

अहिले ब्रोकरमार्फत हुने मार्जिन कर्जाको सीमा ५० प्रतिशत मात्र छ । तर राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थालाई भने सेयर धितो कर्जामा ७० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ । यसरी ब्रोकरबाट ५० प्रतिशत मात्र पाइने तर बैंकबाट सीधै लिंदा ७० प्रतिशत सम्म कर्जा पाइने भएपछि सर्वसाधारण लगानीकर्ता ब्रोकरबाट मार्जिन लिन तयार भएका छैनन् । अब बैंककै बराबार कर्जा पाइने भएपछि लगानीकर्ता मार्जिन कर्जामा पनि आकर्षित हुने अपेक्षा गरिएको छ ।

धितोपत्र बोर्डले मार्जिन कर्जाको सीमा वृद्धिसँगै मार्जिन कलको व्यवस्थामा पनि संशोधन गर्न निर्देशन दिएको छ । हाल लगानीकर्ताले ५० प्रतिशत मार्जिन राखेको धितोपत्रको मूल्य १० प्रतिशत घटेमा मार्जिन कल गर्नुपर्ने व्यवस्था छ । अब यस्तो सीमा संशोधन गरेर २० प्रतिशत पुर्याइने भएको छ । यस प्रावधान अनुसार मार्जिन ऋणको २० प्रतिशत सम्म भाउ घटेमात्र मार्जिन कल गर्नुपर्नेछ । यसबाट लगानीकर्तालाई फाइदा पुग्नेछ ।