कोरोनाका नाममा ५३ लाख भ्रष्टाचार, खर्च विवरण माग्दा पनि दिइएन

काठमाडौँ । कोरोना नियन्त्रण र अन्य शीर्षकमा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ ।

बैतडीको पाटन नगरपालिकाको छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो रकम असुल उपर गर्नुपर्ने देखिएको हो । पाटन नगरपालिकामा कोरोना नियन्त्रण र अन्य शीर्षकमा अनियमित खर्च भएको भन्दै नगरसभा सदस्य भीमदत्त भट्टको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो ।

छानबिन समितिले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै ५३ लाख बढी रकमको कुनै पनि बिल भर्पाइ फेला नपरेकाले असुल उपर गर्नुपर्ने औंल्याएको छ । समितिले कोभिड(१९ रोकथामका लागि खर्च गरिएको रकममा अनियमितता देखिएको जनाएको हो । पाटन नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै गत आर्थिक वर्षमा १ करोड ७३ लाख खर्च गरेको थियो ।

छानबिन समितिका संयोजक भीमदत्त भट्टले प्रतिवेदन सार्वजनिक गर्दै कोभिड(१९ को नियन्त्रणका लागि खरिद गरिएका औषधि, आरडिटी कीटमा समेत आर्थिक ऐन नियमविपरीत खर्च गरेको देखिएको बताए । यस्तै गाडीभाडा, राहत वितरण, राष्ट्रपतिको स्वागत कार्यक्रम, इन्धन र सवारी साधनलगायत शीर्षकमा अनियमित खर्च भएको प्रतिवेदनमा औंल्याइएको छ । यस्तै आइसोलेसन कक्ष निर्माण, सञ्चार शीर्षक, तालिम कार्यक्रम, सवारी साधन मर्मत, भ्रमण भत्तालगायत शीर्षकमा खर्च अनियमित भएको समितिले ठहर गरेको छ ।

यस्तै डिपिआर, सडक निर्माण, विविध, सरसफाइ तथा संरचना निर्माण, पत्रपत्रिका तथा सूचना प्रकाशनलगायत शीर्षकमा अनियमित रुपमा खर्च भएको समितिको ठहर छ । अनियमित खर्च गर्नेमा जनप्रतिनिधिदेखि कर्मचारीहरुको समेत संलग्नता रहेको समितिले औंल्याएको छ । समितिले प्रतिवेदन सार्वजनिक गर्दै आफूहरुले औंल्याएको अनियमित खर्च असुलउपर गर्नसमेत नगरपालिकालाई आग्रह गरेको छ । छानबिनका क्रममा आफूलाई नगरपालिकाको लेखा शाखाबाट शंकास्पद कागजपत्र माग्दा नदिएको समितिले आरोप लगाएको छ ।

साथै नगरपालिकाको लेखा समितिको प्रतिवेदन पनि माग गर्दा आफूहरुले नपाएको छानबिन समितिका संयोजक भट्टले बताए । छानबिन समितिले प्रतिवेदनमा औंल्याएका कुराहरु कार्यान्वयन गर्ने र असुलउपर गर्नुपर्ने रकम असुल उपर गरिने नगरप्रमुख केशवबहादुर चन्दको भनाइ छ ।

ताजा अपडेट