पाल्पा पहिरोमा बेपत्ता पाँचै जनाको शव निकालियो

काठमाडौँ । रम्भा गाउँपालिका २ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाकै शव फेला परेको छ। पुरिएर बेपत्ता भएदेखि उनीहरूको खोजी भइरहेको थियो।

गए राति थप दुई जनाको शव भेटिएको र शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए। घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको सूचना अधिकारी गिरीले बताए।

शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए। वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन।

शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीाको सक्रियतामा खोजीकार्य भएपछि शव भेटिएको हो।