विरामी भएको बहानामा पुस्कर आचार्य मस्त, नेपाली श्रमिकका महामारीमा अस्तव्यस्त

काठमाडौं । कोभिड–१९ का कारण विश्वको आर्थिक क्षेत्र तहसनहस भईरहेको बेला त्यसमा आवद्ध श्रमिकहरुको अवस्था झन बेहाल देखिन्छ । त्यसमा पनि नेपाल जस्तो गरीवोन्मूख देशका श्रमिकहरु त खाना नपाउने अवस्थामा देखिन्छ । गत साता मात्र सामाजिक सञ्जालमा भाईरल बनेको रत्नपार्कको तस्वीर हेर्ने हो भने नेपाली मजदुरहरुको हकअधिकारको ठेक्का लिएर बसेका श्रमिकका नाममा खुलेका संस्थाका नाईकेहरु विदेशी ह्वीस्कीमा मस्त बनिरहेका छन् ।
नेपालमा रहेको ट्रेड युनियनहरुको साझा संस्थाका रुपमा रहेका संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष समेत रहेका नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुस्कर आचार्य विरामी भएको बहाना देखाउँदै घरमा मस्त गरिरहेको आरोप लागेको छ ।

जीवन भर श्रमिकको भूमिकामा काम नगरेको आचार्यले श्रमिकको नेता हुँदा नेपाली श्रमिक अहिलेको विश्वमहामारीमा अस्तव्यस्त बन्न पुगेका हुन् । ठूला घराना उद्योगीहरुसँगको उठवसमा रमाउने आचार्य यतिखेर श्रमिकको मुद्दा लिएर अगाडि बढ्नु पर्नेमा दीर्घ रोगलाई अहिलेको बहानाबाजी बनाउँदेन घरमा बसिरहेपछि उनी निकट श्रमिकहरुले आक्रोश व्यक्त गर्न थालेका छन् ।
कोरोना महामारीका कारण देखाँउदै नेपाल उद्योग बाणिज्य महासंघका सदस्य रहेक अधिकांश उद्योगहरुले श्रमिकहरुलाई रोजगारीबाट निकालेको अवस्थामा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष आचार्यले एउटा विरोध पत्र समेत लेख्न सकेनन् । उद्योगीहरुले श्रमिक माथि गरेको ज्यादती विरुद्ध आवाज उठाउनु पर्ने व्यक्ति घरमा मस्त हुँदा लाखौ श्रमिक र उनीहरुमा आश्रित परिवार समेत भोकै बस्नु पर्ने भएको छ ।

आचार्य घरमा विरामी भएको बहानामा मौन बस्नुको कारण अरु केही नभएर उनले नेतृत्व गरिरहेकाे नेपाल ट्रेड युनियन कांग्रेस संस्था नविकरण नगर्दिने हो कि भन्ने डरले श्रमिकका पक्षमा आवाज निकाल्न सकिरहेका छैनन् । सरकारलाई दवाव दिन नसकेकै कारण विदेशमा लाखौ नेपाली श्रमिक अहिलेसम्म पनि अलपत्र परेका छन् ।
हुन त आचार्य संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को अध्यक्ष भएपनि जुन हैसियतले ( नेपाल टे«ड युनियन कांग्रेसको अध्यक्ष भएका नाताले )त्यहाँ पुगेका हुन् त्यो संस्था नै करीव ८ महिना अगाडि नै वैधानिक रुपमा खारेजी भईसकेको देखिन्छ ।

अध्यक्ष नै गैरजिम्मेबार बन्दा सरकारले विदेशमा बेखर्ची भएकाहरुको उद्दारमा चासो नदेखाएको र देशभरका मजदूरको अवस्था बेहाल भएको ट्रेड युनियनका नेताहरु नै बताउँदै आएका छन् ।

कोरोनाका कारण रोजगारी गुमाएर बेखर्ची भएका श्रमिकहरुलाई विदेशबाट निशुल्क रुपमा ल्याउने सरकारले घोषणा गरेपनि अहिलेसम्म उद्दार भएको देखिदैन ।

वैदेशिक रोजगार बोर्डका अनुसार अहिलेसम्म उद्दारमा उडानको अभाव रहेको र त्यस्ता कामदारको विवरण पनि आउन सकेको छैन् । बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बेखर्ची बनेका कामदारको तथ्यांक संकलनको काम भैइरहेको बताए ।

सरकारले कामदारको नै लागत संकलन गर्न नसकिरहेको बेला ट्रेड युनियनहरुले प्रावासी कमिटीमार्फत त्यस्ता कामदारको लगत संकलन गर्नसक्थ्यो तर त्यस्ता कमिटीहरु अहिले कहाँ छन् ? श्रमिक नेताहरुको गैरजिम्मेवारीका कारण पत्तै छैन् ।

अध्यक्षले त्यस्ता कमिटीलाई विपद्मा क्रियाशिल गर्नुपर्नेमा कुनै चासो नदेखाएको विदेशमा रहेका अलपत्र श्रमिकहरुको भनाई छ । राष्ट्रिय योजना आयोगको अध्ययन अनुसार २ लाख भन्दा बढि श्रमिकहरु कोरोनाका कारण बेखर्ची बनेर नेपाल फर्कन चाहिरहेका छन् ।
आप्रवासी श्रमिक र आन्तरीक श्रमिकका नाम ‘भजाएर’ खुलेका सयौंँ सरकारी एवं गैरसरकारी संस्थाहरुले पनि कोरोनाको बेला श्रमिकको अवस्था बेहाल हुँदा पनि कुनै चासो देखाएका छैनन् ।

उनीहरुले विदेशबाट ल्याएको करोडौंँ रकमहरु विपतमा खर्च नगर्दा कतै उनीहरुले त्यो रकम मोजमस्तीमा सिध्याएका त छैनन् ? भन्ने गम्भीर प्रश्न उठेको र यसबारे छानविन हुनुपर्ने श्रमिकहरु बताउछन् ।

उनीहरुका अनुसार ट्रेड युनियनका नेताहरुको एक–एकको सम्पती समेत छानविन हुन जरुरी छ । यता, वैधानिकता गुमाएको युनियनले आफ्नो आर्थिक क्रियाकलाप भने अझै रोकिरहेको छैन् ।

श्रमिकका नाममा ठूलो रकम दातृ निकायहरुबाट ल्याइएपनि नेताहरुले विपतका बेला उनीहरुको हितमा खर्च गरिरहेका छैनन् । त्यसो त, फागुन ३ पछि महासंघमा आबद्ध विभिन्न राष्ट्रिय संघलाई लाखौंका चेक बाँडिएको कुरा यस अघि इकालोपाटीले सार्वजनिक गरेको थियो । अहिले फेरि सातै प्रदेशका समितिहरुलाई रकम बाँढ्ने काम भईरहेको देखिन्छ ।

वैधानिकता गुमाएको संस्थाले आर्थिक कारोबार गर्नु अनुचित रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग, राष्ट्र बैंकहरुले ट्रेड युनियन कांग्रेसमाथि निगारानी बढाएका थिए ।

स्रोतका अनुसार उनीहरुले वैधानिकता गुमाएका संस्थामाथि छानविनको प्रक्रिया अघि बढाइसकेका छन् । ट्रेड युनियन कांग्रेसले अहिले गरिरहेको आर्थिक क्रियाकलापलाई लेखापरिक्षणले पनि नस्वीकार्ने सरकारी अधिकारीहरुकै भनाई रहँदै आएको छ ।

पछिल्लो समय नेतृत्वमा पुग्ने र पदीय दुरुपयोग गरि संगठनको आडमा अकुत सम्पति कमाउनेहरु बढेको र त्यस्तामाथि छानविन चलिरहेको सम्पति शुद्धिकरण विभागका एक उच्च अधिकारीले बताए ।

अहिले पनि श्रममन्त्री रामेश्वर राय यादवका छोरा आर्थिक फाइदा लिएर भएपनि सो संस्था नविकरण गर्ने तयारीमा देखिन्छन् । सो विषयमा इकालोपाटीले श्रम सचिव तोयम रायासँग कुरा गर्दा आफ्नो टेवलमा नेपाल ट्रेड युनिय कांग्रेसको नविकरण फाइल नआएको बताए । त्यस्तै मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले फाइलका विषयमा बोल्न नमिल्ने बताउँदै नियम कानून अनुसार नै हुने बताए ।
श्रम विभागका महानिर्देशक सनत केसी, नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ, प्रधानमन्त्रीका सल्लाहकार विष्नु रिमाललगायतलाई संस्था नविकरणका लागि ट्रेड युनियन कांग्रेसका नेतृत्वबाट चर्को दबाब पर्दै आएको छ भने नेताहरु दैनिक जसो उनीहरुको दैलो चाहार्ने गरेका छन् ।
नेपाली कांग्रेस महाधिवेशनको संघारमा रहँदा ट्रेड युनियन कांग्रेसका नेताहरु पनि विभाजित हुन थालेका छन् । अहिले पनि ट्रेड युनियन भित्र गुटै गुटमा रुमल्लिएका छन्। नेपाल ट्रेड युनियन काँगेस अहिले पाटीर्काे संस्थापन पक्षलाइ आफ्ना मुद्दा सरकारको विपक्षी दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवालाई नसुनाउन मात्र होइन उनलाई स्वीकार गरेको पनि देखिँदैन ।

युनियन र पार्टीमा धेरै गुट–उपगुट रहँदा नेताहरु विभाजित भई आ–आफ्नोमा स्वार्थमा तल्लिन रहँदा मारमा श्रमिक नै पर्ने देखिएको छ । मुलुकभरका लाखौ श्रमिक र तीनका परिवारहरु भोकै मर्नु पर्ने बेला आईसक्दा पनि ट्रेड युनियन चलाएका नेताहरु भने आफू कसरी पैसा कमाउने र आफ्नो पद जोगाउने भन्ने रस्साकसीमा नै लागिरहेको देखिन्छ । श्रमिकका नाममा विदेशी दातृ निकायबाट करोडौं रुपैयाँ सहयोग ल्याउने गरिएको भएपनि अहिलेको महामारीमा श्रमिकहरु प्रति ट्रेड युनियनहरु उत्तरदायी बन्न सकेको देखिँदैन । श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषको ललिपप देखाएर आफूहरु ठूला साहुहरुसँग रकम असुल्दै ‘हायर एण्ड फायर’को नीतिमा हस्ताक्षर गरेर आफ्नो दलालीपन उदाङ्गो पारिसकेका छन् ।

ताजा अपडेट