प्रदेश २ मा प्राविधिक कर्मचारी भर्ना लिने बाटो खुल्यो

काठमाडौँ । प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्नाका लागि अहिलेसम्म स्वीकृति नदिएको भन्दै आलोचना भइरहेका बेला प्रदेश २ सरकारले प्राविधिक कर्मचारी भर्ना लिने बाटो खुला गरेको छ।

सोमबार बसेको प्रदेश २ मन्त्रीपरिषद बैठकले प्रदेश लोकसेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ सेवामा सातौं तहसम्मको भर्ना लिन स्वीकृति दिने निर्णय गरेसँगै कर्मचारी भर्ना लिने बाटो खुला भएको हो।

प्रदेश निजामति सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनलाई नै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्न मन्त्रीपरिषदको बैठकले स्वीकृति दिएको हो।

त्यसैगरी बैठकले लोकसेवा आयोगको ओएण्ड एम पारित गर्नुका साथै लोकसेवाको सचिवमा काम गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिएको छ।

कोरोना महामारीमा प्रदेशमा चिकित्सकको अभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले यी दुबै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया समेत सुरु गरेको छ।