गैरराजनीतिक पिएचडीधारी खतिवडालाई सँधै लाभको पद

काठमाडौं । पिएचडी धारी युवराज खतिवडा प्रधानमन्त्री ओलीकै कारण पटक पटक पदमा बहाली हुन सफल भएका छन् । हाम्रा प्रधानमन्त्रीका प्यारा युवराज निरंकुशतन्त्रदेखि लोकतन्त्रसम्म सत्ताभोगी सवैका दाहिना भए । युवराज खतिवडाले अवसर पाएको प्रम ओलीको कारणले मात्र होइन । उनले निरंकुश राजतन्त्रदेखि साम्यवाद भनिने गणतन्त्रसम्म सुनौला पदहरुमा विराजमान भए । शाही शासनकालमा दरबारियाहरुको चाकडीका कारण राष्ट्रिय योजना आयोगको सदस्य पद हडप्न सफल भएका खतिवडा साम्यवादी भनिने करिब दुई तिहाई नेतृत्वको सरकारका पालामा एकै महिनामा दुईवटा पद लिन सफल भएका उनी अमेरिकाका लागि नेपाली राजदूत पड्काउन सफल भए । ‘उपरवाला देता है तो छप्पर फाडके देता है’ भनिने हिन्दी उखान खतिवडाको जीवनमा लागु भएको हो ।

२०५९ असोज १८ मा राजा ज्ञानेन्द्र शाहले गरेको ‘सफ्ट कू’ पछि खतिवडा राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भए । राष्ट्र बैंकका जागिरे खतिवडाले दरबारियाहरुको चाकडी गरी उक्त नियुक्ति पाएका थिए । उनले सो नियुक्ति पाउन राजाको कृपामा प्रधानमन्त्री भएका लोकेन्द्रबहादुर चन्दका अति निकट जोगमेहर श्रेष्ठको घरमै चाकडी गर्न पुगेको राप्रपाका नेताहरु अहिले पनि भन्ने गर्दछन् । त्यसपछि शेरबहादुर देउवालाई राजा ज्ञानेन्द्रले प्रधानमन्त्री बनाए । देउवाको सरकारमा एमाले पनि सामेल भएको थियो । अर्थमन्त्री थिए भरतमोहन अधिकारी । खतिवडाले एमालेका नेताहरुसँग याचना गरी योजना आयोगको सदस्यमा निरन्तरता पाए । राष्ट्रबैंकको पद होल्डमा राखेर उनी योजना आयोगको सदस्य नियुक्त भएका थिए ।

देउवाकै सरकारमा त्यतिबेला राष्ट्रबैंकको गभर्नर पद खाली भयो । आयोगका सदस्य खतिवडाले गभर्नरमा दावी गरे । गभर्नरमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले खतिवडा, विजयनाथ भट्टराई, बीरविक्रम रायमाझीको नाम सिफारिस गरेका थिए । गभर्नरमा सिफारिस भइसकेपछि महान्यायाधीवक्ता कार्यालयमा लेखेर पठाइयो । महान्यायाधीवक्ता थिए महादेव यादव । उनले राष्ट्र बैंकभित्रबाट डेपुटी गभर्नरमध्येबाट गभर्नर हुन पाउँछ, कार्यकारी निर्देशकले पाउँदै पाउँदैन, ऐनमै व्यववस्था छैन भन्ने राय दिए ।

राष्ट्रबैंक बाहिरबाट भए खतिवडा हुन पाउँछन्, भित्रबाट पाउँदैनन् भनेकाले त्यतिबेला एमालेले पाएको गभर्नर पद नै फुत्कियो । खतिवडालाई कार्यकारी निर्देशकबाट राजीनामा दिन लगाएर उनको नाम सिफारिस गरिएको भए उनी गभर्नर हुने थिए । उनको योग्यता पुगेको थियो । तर, उनले पेन्सनको लोभमा राजीनामा पनि दिएनन् । २० वर्षमा पेन्सन हुने, उनको १९ वर्ष ४ महिना जागिर अवधि पुगेको थियो । खतिवडाले ‘चिची पनि पापा पनि’ को लोभ गर्दा एमालेको भागबाट गभर्नर पद फुत्किन पुग्यो ।

योजना आयोगको सदस्यबाट कार्यकाल सकिएपछि उनी श्रीलंकामा एसियाली विकास बैंकको जागिर खान गए । २०६६ मा माधव नेपाल प्रधानमन्त्री भएपछि उनको खोजी भयो । उनी तुरुन्तै नेपाल फर्किए । फर्किनासाथ योजना आयोगको उपाध्यक्षमा नियुक्त भए । योजना आयोगको उपाध्यक्ष हुँदाहुँदै फेरि राष्ट्रबैंकको गभर्नर पद खाली भयो ।

उनले आयोगको उपाध्यक्षभन्दा मर्यादाक्रममा तल्लो मानिने गभर्नरको पदमा नियुक्ति हुन रहर गरेपछि तत्कालीन प्रधानमन्त्री नेपालले उनलाई गभर्नर बनाए । गभर्नर उनको तेस्रो नियुक्ति थियो ।

२०७२ असोज ३ मा केपी ओली प्रधानमन्त्री भए । ओलीले उनलाई पुनः राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाए । दोस्रो पटकको योजना आयोगको नियुक्ति उनको चौथो अवसर हो । खतिडाले आयोगमा पुनः नियुक्ति भएपछि राज्यमन्त्री सरहको उपाध्यक्ष पदलाई मन्त्रीसरहको बनाए । व्यक्तिगत लाभका लागि खतिवडा के सम्म गर्दछन् रु भन्ने यो दृष्टान्त हो । उनी २०७४ मा नकेपाले दुईतिहाई बहुमतसहितको सरकार बनाएपछि राष्ट्रियसभाको सांसद हुने मौका पाए । राष्ट्रियसभा सांसद उनको पाँचौं राजकीय सुविधाको पद हो । राष्ट्रियसभाको सांसदपछि प्रधानमन्त्री ओलीले उनलाई अर्थमन्त्री नै बनाएर सबैलाई चक्मा दिए ।

पार्टीमा जेलनेल भोगेका र राजनीतिमै जीवन बिताएकाभन्दा ओलीका लागि खतिवडा प्यारा भए । अर्थमन्त्रीको पद उनको छैठौं छलाङ थियो । खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने चाहना ओलीको थियो, तर उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जाने हठ देखाएपछि उनी राजीनामा दिन बाध्य भए । प्रधानमन्त्री ओलीले सातौं पटक खतिवडालाई मन्त्री सरहको विशेष आर्थिक सल्लाहकारमा नियुक्ति दिएका छन् ।

खतिवडाको लोकतन्त्र ल्याउन रौं बराबर योगदान छैन । तर हजारौंको बलिदान र त्यागपछि प्राप्त लोकतन्त्र सबैभन्दा बढी अवसर पाउनेमा खतिवडाको नाम अग्रपंक्तिमा आउँछ । एक दुई पटकमात्र होइन, खतिवडाले आठ पटक अवसर पाएका छन् । लोकतन्त्रका लागि लडेका नेकपाका समर्थकलाई एकपटक नियुक्ति दिएपछि दोस्रो पटक नदिने मापदण्ड बनाइएको छ । तर खतिवडाको हकमा त्यो मापदण्ड लागू भएको छैन ।

अहिलेका लागि राजदूत नियुक्त भएका खतिवडाले विगतको अनुभव हेर्दा निकट भविष्यमा अझै अवसर पाउने सम्भावना नकार्न नसकिने जानकारहरु बताइरहेका छन् ।