बलात्कृत बालिकालाई उपचार कस्ले दिने ?

रौतहट सोमबार बलात्कृत सात वर्षकी बालिकाले उपचार र सुरक्षा नपाएको भनेर पीडित परिवारले गुनासो गरेका छन्। चन्द्रनिगाहपुर सरकारी अस्पतालमा जीवन–मरणको छटपटी व्यहोरिरहेकी छन् पीडित बालिका । मंगलबारदेखि अस्पतालमा राखिएको उनलाई सामान्य उपचार मात्र हुन सकेको छ। बालिकाको बिग्रिँदो अवस्थाले उनका अफान्त चिन्तित छन्। बाटो छेउको बेडमा ओठ सुकेकी र अनुहार मलिनो भएकी बालिका छटपटाएर सुतेकी छन् । बेडकै एक छेउमा आमा र आफन्तलाई बच्चीको बिग्रँदो स्वास्थ्य अवस्थाले गम्भीर मौनताले गाँजेको छ ।

सोमबार चपुरकी बालिकालाई बाइस वर्षीय दिनेश दास तत्माले बलात्कार गरी घाइते बनाएका थिए। पैसाको प्रलोभन देखाई उनलाई दासले घरनजिकै आम खोला किनारमा लगेर बलात्कार गरेको प्रहरी बताउँछ। प्रहरीले ती बालिकालाई सोमबारै अस्पताल पुर्‍याएको थियो। त्यसदिन सामान्य उपचार गरी अस्पतालले घर पठाएको भए पनि बालिकाको स्वास्थ्यमा राम्रो सुधार हुन सकेन ।

स्वास्थ्यमा थप समस्या आयो। अत्यधिक रक्तश्राव भयो र थप उपचारका लागि अस्पताल लगियो। स्वास्थ्यकर्मीले उपचारमा ध्यान नदिएको अधिकारकर्मी र आफन्तको गुनासो छ। घटना भएकै दिन अस्पताल पुर्‍याउँदा डक्टरहरुले सामान्य उपचार मात्रै गरेर पठाएको पीडित पक्षको भनाइ छ। मंगलबार अस्पताल पुर्‍याउँदा पनि वास्ता नगरेको गुनासो उनीहरुले गरेका छन्। पछिल्लो पटक अनुनयविनयपछि मात्र बालिकाको घाउमा टाँका लगाइएको अभिभावकले बताए।
हिजो दिउँसोसम्म रक्तस्राव भइरहेको छ । बालिका मौन छिन् । छेउमा बसेकी आमा छोरीलाई केही हुन्छ कि भन्ने चिन्तामा छिन्। बाबु अस्पतालबाहिर र भित्र गरेर टोलाइरहन्छन् । भाग्यलाई दोष दिन्छन् र धिक्कार मान्दछन् तर राज्य मौन र लाचार बन्छ । अधिकार पाएका निकायको आँखा फुटेको छ ।

ताजा अपडेट