किन गए चौधरी कालापथ्थर ?

काठमाडौँ । भारतीय टेलिभिजन च्यानल जीन्युजले चार्टर्ड गरेको सिम्रिक एयरका दुई वटा हेलिकप्टर गत आइतबार बिहान ८ बजेर ४५ मिनेटमा लुक्ला विमानस्थलमा अवतरण भएका नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जनाएको छ ।

लुक्ला पुगेको ९ मिनेटपछि दुवै विमान सगरमाधाको आधार शिविर मानिने नाम्चेभन्दा केही माथि रहेको होटल एभरेस्ट भ्यु एचईभीका लागि उडेका थिए। एचईभी पुगेपछि दुवै हेलिकप्टर कालापत्थर क्षेत्रमा पुगेका थिए। दुवै विमान त्यस दिन बिहान ११ बजेर ३९ मिनेटमा लुक्ला विमानस्थलमा फर्किएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा पुगेर जी न्युजका पत्रकार सुधिर चौधरीले लिएको अन्तर्वार्ता प्रशारण भएको दोस्रो दिन उक्त टेलिभिजनले आफ्ना पत्रकारले विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्र पुगेर छायाङ्कन गरेको दृश्य प्रशारण गरेको हो ।

कार्यक्रममा चौधरीले सगरमाथालाई भारतले पनि दाबी गर्नुपर्ने र यसको उचाई भारतीय नागरिक राधानाथ सिकन्धरेले नापेकाले उनकै नाममा नामाकरण हुनुपर्ने भन्दै सगरमाथाको नाम फेरिनुपर्ने माग समेत गरेका छन् . लुक्ला विमानस्थलबाट एचईभी पुग्न १० मिनेट र त्यहाबाट कालापत्थर पुग्न १० मिनेट हवाई समय लाग्छ। यसरी हेर्दा लुक्लाबाट कालापत्थर पुगेर सोही ठाउँमा फर्कन विमानलाई कम्तीमा ४० मिनेट लागेको देखिन्छ। त्यसअघि चौधरीले आफ्नै नाममा दर्ता गरेर काठमाडौँ माउन्टेन शीर्षकमा सिम्रिक एयरका विमान चार्टर्ड गरेको स्रोत बताउँछ।

नेपालबारे र नेपाल चीन सम्बन्धबारे सँधै विवादास्पद अभिव्यक्ति दिँदै आएका पत्रकार चौधरीले नेपाल आएर प्रधानमन्त्री ओलीसँग लिएको अन्तर्वार्ता र त्यसपछि सगरमाथा क्षेत्रमा गएर विवादास्पद अभिव्यक्ति दिँदै गरेको भिडियो रेकर्डलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक किचलोका कारण प्रतिनिधी सभा विघटन गरेपछि आलोचित बनिरहेका बेला चौधरीसँगको अन्तवार्ता बाििरएको थियो।

चीनसँग समेत सिमा जोडिएको क्षेत्रमा पुगेर भारतीय राष्ट्रवादबारे खह्रो उत्रने र नेपाल चीन सम्बन्धबारे विवादास्पद अभिव्यक्ति दिने चौधरी सम्मिलित टोलीको त्यस क्षेत्रमा पुगेर अनर्गल प्रचार गर्नुलाई विशेष रुपमा हेनुपर्ने विज्ञहरु बताउँछन् ।